दु
बई । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत एकता र सामाजिक सद्भाव सुदृढ गर्ने उद्देश्यले दोस्रो जीसीडी कप आगामी शनिबार फेब्रुअरी २८ देखि दुबईको अल क्वोजस्थित डुल्स्को स्पोट्र्स कम्प्लेक्समा सुरु हुँदैछ ।
प्रतियोगिता यूएईमा नेपाली समुदायबीच हुँदै आएका फुटबल प्रतियोगितामध्ये सर्वाधिक पुरस्कार राशियुक्त रहेको छ । आयोजकका अनुसार विजेता टोलीले १० हजार दिराम (करिब चार लाख नेपाली रुपैयाँ) नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले ५ हजार दिराम हात पार्नेछन् ।
यस प्रतियोगिताको आयोजना जीसीडी ग्रुप अफ कम्पनीजका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व संयोजक रमेश श्रेष्ठले गरेका हुन् । उनले खेलकुदलाई समुदाय जोड्ने प्रभावकारी माध्यमका रूपमा भएको बताए ।
उनले भने, ‘फुटबलले मानिसलाई एकताबद्ध बनाउँछ । मित्रतालाई बलियो बनाउँछ र मैदानभन्दा बाहिर पनि परिवारको अनुभूति गराउँछ । खेलकुद केवल प्रतिस्पर्धा होइन, सामाजिक समन्वयको आधार हो ।’ सामाजिक अभियन्ताका रूपमा परिचित श्रेष्ठ व्यवसायसँगै विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् । उनी ‘खेलकुद नै जीवन हो’ भन्ने मान्यतासहित समुदायस्तरमा स्वास्थ्य, अनुशासन र सहकार्यको संस्कार विकास गर्न निरन्तर लागिरहेका छन् ।
जीसीडी ग्रुप यूएई, नेपाल, कतार, युरोपलगायत एक दर्जनभन्दा बढी देशमा शाखा विस्तार गरिसकेको बहुराष्ट्रिय व्यवसायिक सञ्जाल हो । प्रवासमा रहेका नेपालीहरूलाई व्यवसाय, रोजगारी र सामाजिक सञ्जालमार्फत जोड्ने उद्देश्यले समूहले विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रतियोगितामा यूएईभरिका नेपाली क्लबहरूको सहभागिता रहने जनाइएको छ । आयोजकका अनुसार ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित आपसी सद्भाव, अनुशासन र भाइचारालाई सुदृढ गर्ने लक्ष्य राखिएको छ ।
विशेषतः नेपालमा राष्ट्रिय स्तरका खेल खेलेका धेरै खेलाडीहरू वैदेशिक रोजगारीका लागि यूएईमा कार्यरत छन् । जीसीडी कपले उनीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने मञ्च प्रदान गर्नुका साथै हजारौं नेपाली श्रमिक तथा व्यवसायीबीच सामाजिक एकता र आपसी सम्बन्ध विस्तार गर्न ठोस योगदान पुग्ने अपेक्षा गरिएको छ ।
प्रवासमा श्रम र संघर्षबीच व्यस्त नेपाली समुदायका लागि जीसीडी कप केवल खेलकुद प्रतियोगिता मात्र नभई आत्मीयता, पहिचान र साझा भावनाको उत्सव बन्ने आयोजकको विश्वास छ ।