अटो विशेष

नाडा अटो शोमा प्रोटोन ईमास ५ सार्वजनिक, ३२.९९ लाखदेखि मूल्य

११ भाद्र २०८३, बिहीबार १६:४२

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो–२०२६ मा विद्युतीय सवारीसाधन (ईभी) ब्रान्डहरूबीच प्रतिस्पर्धा झन् तीव्र बनेको छ । मलेसियाली ब्रान्ड प्रोटोन ले आफ्नो नयाँ कम्प्याक्ट विद्युतीय एसयूभी ईमास ५ को नियमित मूल्य र ग्राहक केन्द्रित अफर सार्वजनिक गरेको छ भने चिनियाँ ब्रान्ड लिपमोटर ले पनि नयाँ मोडलसँगै विशेष छुट योजनाहरू अघि सारेको छ ।

नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स का प्रतिनिधि दिपेश पौडेलका अनुसार करिब एक महिनाअघि नेपाली बजारमा सार्वजनिक गरिएको ईमास ५ को डेलिभरी सुरु भइसकेको छ ।

उनले यो मोडल ४ हजार मिलिमिटरभन्दा बढी लम्बाइ भएको कम्प्याक्ट एसयूभी रहेको र यस सेग्मेन्टमा रियर–ह्विल ड्राइभ तथा इन्डिपेन्डेन्ट सस्पेन्सन सहित आउने पहिलो मोडल भएको दाबी गरे ।

उनका अनुसार कम्पनीले ईमास ५ लाई “रि डिफाइन योर एभ्रिडे” ट्यागलाइनसहित बजारमा उतारेको हो । दैनिक प्रयोगलाई लक्षित गरिएको यो गाडी विद्यार्थी, प्राध्यापकदेखि विभिन्न पेसामा आबद्ध ग्राहकका लागि उपयुक्त हुने कम्पनीको दाबी छ । विगत दुई वर्षदेखि नेपाली बजारमा रहेको ईमास ७ ले बनाएको विश्वासका कारण ईमास ५ ले पनि राम्रो प्रतिक्रिया पाइरहेको उनले बताए ।

प्रोटोनले सुरुवाती १०० ग्राहकका लागि ईमास ५ को परिचयात्मक मूल्य प्राइम भेरियन्ट का लागि २९.९९ लाख रुपैयाँ र प्रिमियम भेरियन्ट का लागि ३४.९९ लाख रुपैयाँ तोकेको थियो । उक्त अफर समाप्त भएसँगै कम्पनीले नियमित एमआरपी लागू गरेको छ । हाल ईमास ५ प्राइमको मूल्य ३२.९९ लाख रुपैयाँ र प्रिमियमको मूल्य ३६.९९ लाख रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

नाडा अटो शो अवधिमा वा नेपालभर रहेका आधिकारिक डिलरसिपबाट गाडी बुकिङ तथा डेलिभरी गर्ने ग्राहकलाई कम्पनीले थप आकर्षक सुविधा पनि दिएको छ । यसअन्तर्गत ५० हजार रुपैयाँ नगद छुट, एक वर्षको अटो–प्लस इन्स्योरेन्स, एक आर्थिक वर्षको सडक कर, ७ किलोवाट चार्जर तथा आवश्यक एसेसरिज उपलब्ध गराइनेछ ।

नाडा अटो शोमा अर्को ईभी ब्रान्ड लिपमोटर ले पनि आफ्नो उत्पादन दायरा विस्तार गर्दै नयाँ मोडलहरू प्रदर्शन गरेको छ। कम्पनीका प्रतिनिधि रितेश कुमार साक्यका अनुसार प्रदर्शनीमा बी१०, बी०३एक्स र सी१० मोडल राखिएका छन् ।

कम्पनीले शो विशेष अफरअन्तर्गत ग्राहकलाई रोड ट्याक्स र रजिस्ट्रेसन शुल्क, इन्स्योरेन्स, चार्जर तथा एसेसरिज मा सुविधा उपलब्ध गराइरहेको जनाएको छ । साक्यका अनुसार बी१० को मूल्य ५४.९९ लाख रुपैयाँ कायम गरिएको छ भने हालै सार्वजनिक गरिएको बी०३एक्स लाई ४४.९९ लाख रुपैयाँको इन्ट्रोडक्टरी मूल्य मा बजारमा ल्याइएको छ । कम्पनीले सी१० को २०२६ मोडलको संशोधित मूल्य भने अटो शोकै क्रममा सार्वजनिक गर्ने जनाएको छ ।

लिपमोटरका अनुसार बी०३एक्स लाई आफ्नो सेग्मेन्टमा प्रतिस्पर्धी मोटर, ब्याट्री क्षमता र रेन्ज भएको मोडलका रूपमा प्रस्तुत गरिएको छ । यसमा १४५ किलोवाटको इलेक्ट्रिक मोटर, ५३ किलोवाट–घण्टाको ब्याट्री र ३८२ किलोमिटर सम्मको ड्राइभिङ रेन्ज उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

साक्यले बी०३एक्स सार्वजनिक भएयता ग्राहकबाट सकारात्मक प्रतिक्रिया र उल्लेख्य बुकिङ प्राप्त भइरहेको बताए । उनका अनुसार धेरै ग्राहक गाडीबारे थप जानकारी लिन इच्छुक भएकाले नाडा अटो शोमार्फत प्रत्यक्ष अवलोकन र परीक्षणको अवसर प्रदान गरिएको हो ।

यस वर्षको नाडा अटो शोमा विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डहरूले नयाँ प्रविधि, लामो रेन्ज र प्रतिस्पर्धी मूल्यमा विद्युतीय सवारी सार्वजनिक गरेका छन् । प्रोटोन र लिपमोटरले सार्वजनिक गरेका नयाँ मोडल तथा विशेष अफरले नेपाली ईभी बजारमा प्रतिस्पर्धा थप चर्किएको संकेत गरेको छ ।

आयोजकका अनुसार यस पटकको प्रदर्शनीमा विद्युतीय सवारीसाधनको प्रभुत्व देखिएको छ । कम्पनीहरूले मूल्यसँगै चार्जर, इन्स्योरेन्स, रोड ट्याक्स र नगद छुटजस्ता प्याकेजहरू अघि सारेर ग्राहक आकर्षित गर्ने रणनीति अपनाएका छन्, जसले आगामी चाडपर्व लक्षित बिक्रीलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

नाडा अटो शोमा डङफेङका चार नयाँ आकर्षण, भिगो ई–टुको बुकिङ पुनः सुरु

डङफेङका प्रतिनिधि गोविन्द भुषालले नाडा अटो शोमा डङफेङले चारवटा विद्युतीय तथा प्रिमियम मोडल प्रदर्शनीमा राखेको बताएका छने । शोमा भिगो, भिगो ई–टु, बक्स, ईपाई ००७ र एम–हिरोले दर्शकमा राखेको बताए ।

काठमाडौंमा जारी अटो शोमा डङफेङले आफ्ना चार प्रमुख मोडल प्रदर्शनमा राखेको छ । स्टलमा नेपालमा लोकप्रिय एसयूभी भिगो, नयाँ विद्युतीय मोडल भिगो ई–टु, रिभाइज्ड भर्सनको बक्स, सेडान इपाई ००७ तथा ठूलो एसयूभी एम–हिरोलाई आकर्षणका रूपमा प्रस्तुत गरिएको छ ।

डङफेङका अनुसार नेपालमा उच्च रुचाइएको भिगो ई–टु पाँच दिनअघि मात्रै सार्वजनिक गरिएको हो । सार्वजनिक भएको छोटो समयमै उक्त मोडलको बुकिङ आइरहेको उनले बताए ।

उनले भने, ‘हामीले जुन ३५.९९ मा लन्च गरेका थियौँ लास्ट पाँच दिन अगाडि, र त्यो अफर हामीले क्लोज गरेर आज दिनदेखि एमआरपीमा ३७.९९, जुन एक्सेसिभ बुकिङ आयो हामीसँग, ३७.९९ मा आजदेखि हामीले भिगो इ—टु फेरि बुकिङ स्टार्ट गरेका छौँ ।’

अनुसार भिगो ई–टु पाँच दिनअघि ३५.९९ लाख रुपैयाँको विशेष सुरुवाती मूल्यमा सार्वजनिक गरिएको थियो । उक्त अफरमा उल्लेख्य बुकिङ आएपछि अफर बन्द गरी आज बिहीबारदेखि यसको बुकिङ ३७.९९ लाख रुपैयाँको एमआरपीमा पुनः सुरु गरिएको छ ।

उनका अनुसार शोमा राखिएको अर्को आकर्षण बक्सको रिभाइज्ड भर्सन हो, जसको मूल्य भने तत्काल सार्वजनिक गरिएको छैन । त्यस्तै, उनले डङफेङको सेडान मोडल ईपाई ००७ लाई ५९.९९ लाख रुपैयाँको मूल्यमा प्रदर्शनीमा राखिएको बताए ।

प्रिमियम एसयूभी एम–हिरो पनि डङफेङको स्टलमा प्रदर्शनीका लागि राखिएको छ । यसको मूल्य शोमा सार्वजनिक गरिएको छैन । भुषालका अनुसार एम–हिरोको सम्भावित मूल्य ६ करोड रुपैयाँभन्दा माथि हुन सक्नेछ ।

२५०० भन्दा बढी नामीका ग्राहक

भुषालले डङफेङलाई विश्वव्यापी रूपमा स्थापित चिनियाँ अटोमोबाइल समूहको ब्रान्डका रूपमा प्रस्तुत गर्दै नेपालमा पनि यसको बजार विस्तार भइरहेको बताए । डङफेङअन्तर्गतको नामी ब्रान्डका विद्युतीय सवारीसाधनका २,५०० भन्दा बढी ग्राहक नेपालमा रहेको उनले बताए ।

उनले नामीका सवारीसाधनको मूल्य, सञ्चालन खर्च, विश्वसनीयता र कम्पनीको बिक्रीपछिको सेवाका कारण ग्राहकको विश्वास बढेको बताए । नेपालमा डङफेङका सवारीसाधन एमएडब्ल्यू वृद्धि समूहले आयात तथा बिक्री गर्दै आएको जानकारी दिए । उनले डङफेङले सार्वजनिक गरेका मूल्यलाई नै क्यास डिस्काउन्टसहितको मूल्यका रूपमा राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्