काठमाडौं। पपस्टार बियोन्सेले अपेक्षितरुपमा सन् २०२३ मा विश्व टूर गर्ने घोषणा गरेकी छन् । इन्स्टाग्राममार्फत उनले ग्रामीमा मनोनित सन् २०२२ मा रिलिज भएको एल्बम ‘रेनासेन्स’को समर्थनमा वल्र्ड टूर गर्ने घोषणा गरेकी हुन् । उनले आधिकारिक वेबसाइटमा टूरको मिति र सहरको नाम समेत उल्लेख गरेकी छन् ।
आगामी आइतबार हुन लागेको ग्रामी अवार्डको केही दिनअघि मात्र गरिएको यो विश्व टूरले बियोन्सेले उक्त कार्यक्रममा समेत सांगीतिक प्रस्तुति दिने अनुमानलाई बल दिएको छ । एल्बम ‘रेनासेन्स’बाट बियोन्से ९ विधामा मनोनित भएकी छन् । स्रोतका अनुसार बियोन्सेका पति जे जेडले ग्रामीमा यसपटक डिजे खलिदसँग मिलेर सांगीतिक प्रस्तुति दिँदैछन् । सम्भवतः उनले आफ्नो पछिल्लो गीत ‘गड् डिड’मा प्रस्तुति दिनसक्छन्।
बियोन्सेले चार वर्षपछि पहिलोपटक गत जनवरी २१ दुबईको एटलान्टिस द रोयल रिसोर्टमा कन्सर्ट गरेकी थिइन् । यो प्रस्तुतिका लागि बियोन्सेलाई २४ मिलियन डलर पारिश्रमिक दिइएको जनाइएको छ । बियोन्सेले यसअघि नै रेनासेन्स तीन चरणको योजना रहेको बताएकी थिइन् । हुनसक्छ, तेस्रो चरण भनेको उनको नयाँ एल्बम वा टूर नै हुनसक्छ ।
बियोन्सेले यसपटक उत्तर अमेरिका र युरोपेली सहरमा टूर गर्ने तालिका सार्वजनिक गरेकी छन् । जसमा उनको पहिलो टूर मे १० मा स्वीडेनको स्टकहोमदेखि सुरु भएर सेप्टेम्बर २७ मा अमेरिकाको न्यू अर्लियन्समा पुगेर टुंगिनेछ ।