खेलकुद

सेभिया र रोमा युरोपा लिगको फाइनलमा

५ जेष्ठ २०८०, शुक्रबार ०१:२२

काठमाडौँ। स्पानिस क्लब सेभिया र इटालियन क्लब रोमा युरोपा लिगको फाइनलमा प्रवेश गरेका छन्। सेभियाले इटलीकै अर्को क्लब युभेन्ट्सलाई तथा रोमाले जर्मन क्लब बायर लेभरकुजनलाई सेमिफाइनलमा हराएर उपाधि भेट पक्का गरेका हुन्।

गएराति भएको दोस्रो लेगको खेलमा सेभियाले युभेन्ट्सलाई २-१ ले हराउँदै समग्रमा ३-२ को जित हात पारेको हो। पहिलो लेगमा यी दुईबीचको खेल १-१ मा सकिएको थियो।

दोस्रो लेगमा डुसान भ्लाहालोभिचले गोल गर्दै युभेन्ट्सलाई पहिले अग्रता दिलाएका थिए । सुसोले सेभियाका लागि बराबरी गोल फर्काएपछि निर्धारित समयमा स्कोर समग्रमा २-२ भयो। त्यसपछि अतिरिक्त समयमा पुगेको खेलमा सेभियाका लागि एरिक लामेलाले निर्णायक गोल गरे।

रोमाले पहिलो लेगमा प्राप्त १-० को जितलाई नै रक्षा गर्न लेभरकुजनलाई पछि पार्दै फाइनल पुगेको हो। दोस्रो लेग गोलरहित बराबरीमा सकिएपछि रोमा समग्रमा १-०ले विजयी भयो। अब सेभिया र रोमाबीच फाइनल खेल यही ३१ मे मा हंगेरीको बुढापेस्टस्थित पुस्कास स्टेडियममा हुनेछ।

प्रतिक्रिया दिनुहोस्