खेलकुद

रोयल च्यालेन्जर्स बैंग्लोर ६ विकेटले पराजित

८ जेष्ठ २०८०, सोमबार ०२:१८

काठमाडौँ। शुभमन गिलको शतकको मद्दतले इन्डियन प्रिमियर लिगको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गर्न सफल भएको छ।

आइतबार राति भएको खेलमा गुजरातले बैंग्लोरले प्रस्तुत गरेको १९८ रनको लक्ष्य ४ विकेटको क्षतिमा ५ बल अगावै पछ्याएको हो। गुजरातका लागि गिलले ५२ बलमा १०४ रन बनाए। उनलाई ५३ रन बनाउँदै विजय शंकरले राम्रो साथ दिए।

बैंग्लोरका लागि मोहम्मद सिराजले २ विकेट लिए। यसअघि, विराट कोहलीको शतकको मद्दतले बैंग्लोरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९७ रन बनाएको थियो। कप्तान फाफ डु प्लेसिसले २८ तथा माइकल ब्रेसवेलले २६ रनको योगदान दिए। गुजरातका लागि नुर अहमदले २ विकेट लिए।

गुराजतको जीतसँगै मुम्बई इन्डियन्सले पनि प्रतियोगिताको प्लेअफमा स्थान बनाउन सफल भएको छ। आइतबार नै भएको खेलमा मुम्बईले हैदरावादलाई हराएको थियो। त्यस्तै, चेन्नई सुपर किंग्स र लखनउ सुपर जायन्ट्स पनि प्लेअफमा पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्