Flash News

‘भलिबलको अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुनु खुसीको कुरा हो’

८ जेष्ठ २०८०, सोमबार १४:२१

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा घोषणा गरेको राष्ट्रिय खेल भलिबलको अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा उद्घाटन गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना भएको काभा महिला च्यालेन्ज कपको उद्घाटनपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा घोषणा भएको भलिबलको उद्घाटन गर्न पाउँदा खुसी लागेको बताएका हुन् ।

भलिबल इतिहासमा पहिलो पटक अहिले सम्मकै सबैभन्दा ठूला प्रतियोगिता आयोजना हुँदैछ । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले भलिबल संघ र राष्ट्रिय खेलकुद परिषद्लाई बधाई र सफलताको शुभकामना दिए ।

प्रधानमन्त्री प्रचण्डले विसं २०७४ जेठ ८ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । नेपालको भौगोलिक विकटता, अन्य खेलको तुलनामा थोरै लगानी र मुलुकभर व्यापक पहुँचका आधारमा भलिबललाई त्यतिबेला राष्ट्रिय खेल बनाउने प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले गरेको थियो ।

यस्तै उद्घाटन कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपालमा खेल पूर्वाधार कमजोर भएको अवस्थामा प्रधानमन्त्री जानकार भएको र विकासका लागि चिन्तित भएको भन्दै पूरा गर्न मन्त्रालय र राखेप अग्रसर रहने प्रतिबद्धता जनाए । लिम्बूले खेल जीवन सकेर बाहिर निस्किँदा निराश भन्दा आशावादी हुन आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले पनि प्रतियोगिताको सफलताको शुभकामना दिए । १४ गतेसम्म आयोजना हुने च्यालेन्ज कपमा नेपालसहित ८ टोलीले सहभागिता जनाउँदै छन् । प्रतियोगिताको पहिलो दिन सोमवार नेपालले किर्गिस्तानमाथि ३–० को सेटमा सहज जित निकाल्दै सुखद् सुरुवात गरेको छ भने उज्वेकिस्तान र भारतले पनि सुखद् सुरुवात गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्