Flash News

अमेरिकी अर्थतन्त्रमा मन्दी निम्तिन सक्ने चेतावनी

८ जेष्ठ २०८०, सोमबार १५:२०

काठमाडौं। अमेरिकी अर्थतन्त्र संकटोन्मुख छ । रिपब्लिकन नेतृत्वको सदनले राष्ट्रपति जो बाइडेनले वर्तमान र भविष्यको सामाजिक सुरक्षा योजनामा कटौती नगरे राष्ट्रिय ऋण तिर्न नदिने बताएका छन् ।

संसदले सरकारी ऋण तिर्ने स्वीकृति केही दिनभित्रै नदिएमा अमेरिकाले विश्व अर्थतन्त्रमा आफ्नो प्रतिष्ठा गुमाउनेछ । सरकार ऋण तिर्नका लागि असमर्थ भएमा लाखौँ मानिस सामाजिक सुरक्षा सेवा प्राप्तिबाट बञ्चित हुनेछन् । संसदले ऋण सापटी सीमा तोकेकाले उनीहरूलाई असर पर्ने भएको हो ।

यो स्थिति समाधान नभएमा अमेरिकामा फेरि मन्दी निम्तिन सक्छ भने धेरैको रोजगारी गुम्न पनि सक्छ । ऋण भुक्तानी स्वीकृतिका लागि ह्वाइटहाउस र रिपब्लिकन नेतृत्वको संसदपछि एक सातासम्म पहल भएपनि सहमति हुन भने सकेको छैन । यस्तो परिस्थितिमा बाइडेनले सभामुख केभिन क्यार्थीसँग भेट्दैछन् ।

जी–सेभेन सम्मेलनमा सहभागी हुन जापान गएका बाइडेन भर्खरै स्वदेश फर्किएका हुन् । हिरोसिमामा बाइडेनले अमेरिकाले विश्व अर्थतन्त्रबारे प्रतिवद्धता नजनाएकामा विश्वका नेताहरू आश्चर्यमा परेका थिए । सम्भवत घरेलु अर्थतन्त्रनै दबावमा रहेकाले बाइडेनले कुनै प्रतिबद्धता नजनाएका हुनसक्छन् ।

अर्थतन्त्र लयमा ल्याउनका लागि बाइडेन प्रशासनलाई उच्च दबाव छ । यदि जुन १ सम्म सदनले ऋणको सीमा नबढाउने हो भने बाइडेन प्रशासनले आफ्ना बाचा तथा बाध्यात्मक काम पूरा गर्न नसक्ने चेतावनी अर्थमन्त्री जेनट यलेनले दिएका छन् ।

सदनले स्वीकृति नदिएको स्थिति अमेरिकी अर्थतन्त्रमा भयावह परिस्थितिका साथै मुलुकलाई नै अविश्वास गर्ने परिस्थिति आउने चेतावनी अर्थमन्त्री यलेनको छ ।

बाइडेनले ऋण सीमामा भने कुनै वार्ता नगर्ने बताएका छन् । प्रतिपक्षी रिपब्लिकनले बाइडेन प्रशासनलाई अप्ठ्यारोमा पार्ने मनसायले सदनमा स्वीकृति नदिएको डेमोक्रयाटको आरोप छ । बाइडेन स्वयंले पनि ट्रम्प निकट सांसदले आफूले जारी राखेको राष्ट्रपतीय निर्वाचन अभियानलाई प्रभावित पार्ने र मुलुकको अर्र्थतन्त्र धरासायी बनाउने नियतले षडयन्त्र रचेको बताएका छन् ।

‘सदनबाट स्वीकृति दिए अर्थतन्त्र डामाडोल हुनेबारे उनीहरू जानकार छन् । त्यसैले मलाई र मुलुकलाई अप्ठयारोमा पारेर लाभ लिनका लागि उनीहरूले षड्यन्त्र गरेका हुन्’, बाइडेनले भनेका छन् ।

बाइडेन पुनः राष्ट्रपतिमा निर्वाचित नहोस् भन्ने हेतुले रिपब्लिकनले षड्यन्त्र बुनिरहेको उनले बताए । यता सभामुख क्यार्थीले भने राष्ट्रपति केही हदसम्म गलेको टिप्पणी गरेका छन् । ‘बाइडेनले डेमोक्र्याटको समाजावादी धार छोडेर समग्र अमेरिकालाई प्रतिनिधित्व गर्न खोज्दैछन्’, उनले भने ।

बाइडेन र आफूबीच केही सकारात्मक संवाद भएको उनले बताएका छन् । वासिंटनमा परिणाम आउनुअघिका वार्ता स्थगित हुनु र आक्षेपको वर्षा हुनु सामान्य नै हुन् ।बाइडेन र क्यार्थी संवैधानिक पदमा रहेका राजनीतिक स्वार्थ प्रेरित मानिस हुन् । दुबै पक्षको आ–आफ्नै एजेण्डा छन् । बाइडेन र क्यार्थीको वार्ताको तयारी भएपनि त्यसले परिणाम निम्त्याउने कुनै सुनिश्चितता छैन ।

आरोप– प्रत्यारोपको खतरनाक श्रृङ्खला

अर्थतन्त्र संकटमा फसेको विषयलाई एकले अर्काविरूद्ध चुनावी हतियार बनाउने रणनीति बनाएका छन् । एउटा सदनमा रिपब्लिकनको बहुमत छ । ४ भोटले सरकारको प्रस्ताव त्यहाँ फेल हुनसक्छ । तर सिनेट र ह्वाइटहाउसमा डेमोक्र्याट भएकाले दुई पक्षबीच शक्ति सन्तुलनका लागि सम्झौतामा आउनुपर्ने स्थिति सामान्यतया छ ।

यद्यपि रिपब्लिकनको उग्र चरित्रका कारण सम्झौता कठिन छ । वासिंटनमा शक्ति सन्तुलन नभएर शक्ति प्रदर्र्शनका नाटक रिपब्लिकनले बारम्बार देखाउँदै आएको छ ।

रिपब्लिकन बाइडेनलाई आगामी चुनावमा धक्का लगाउने दाउमा छ। त्यसैले उसले सभामुख क्यार्थीलाई सदनको स्वीकृति नदिन दबाव दिइरहेको छ।

यता राष्ट्रपति बाइडेनले पनि उत्तिकै दबाव पार्टीबाट झेलिरहेका छन्। केही डेमोक्र्याट सांसदहरूले सभामुख क्यार्थीसँग सम्झौताका लागि बाइडेनले उनका धेरै मागको सम्बोधन गर्नसक्ने खतरा रहेको बताएका छन्। रिपब्लिकनले आफूहरूलाई अप्ठयारोमा पार्ने बहानामा सरकारी सहयोगको आवश्यकता रहेको जनसंख्याको जनजीवन समेत अस्तव्यस्त बनाउन खोजेको डेमोक्रयाटको आरोप छ।

डेमोक्रयाट सांसद समल ली भन्छन्,‘रिपब्लिकनले मुलुक र जनतालाई गरिबीतर्फ धकेल्न खोजेको छ । यो पार्टी राज्य र जनताविरूद्ध निकै क्रुर बनिरहेको छ। डेमोक्र्याट र रिपब्लिकनबीचको यो लडाईंले लाखौँ अमेरिकी प्रभावित हुनेछन्। यसले बाइडेन र क्यार्थी दुबैको आगामी भविष्यलाई संकटमा लानेछ।

अर्कोतर्फ अमेरिका आफैंले निम्त्याएको आर्थिक संकटमा फस्नेछ। ‘हामी निकै भयावह अवस्था नजिक छौँ यो समस्या समाधान नभए मुलुक ठूलो भड्खालोमा पर्नेछ’, डेमोक्रयाट सांसद क्राइस होलनले भनेका छन्।

राष्ट्रपति बाइडेनले यो अवस्था आउन नदिने भन्दै जापामा भ्रमण छोट्याएर अमेरिका फर्किएका छन्। उनले सभामुख क्यार्थीसँग गर्ने संवादको प्रतिक्षा र त्यसले निम्त्याउने परिणाम अमेरिकाले कुरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्