Flash News

धोनीको चेन्नईले पाँचौं पटक जित्यो आईपीएल उपाधि

१६ जेष्ठ २०८०, मंगलवार ०१:४७

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ।

चेन्नईले सोमबार राति खेलिएको फाइनलमा बलियो प्रतिद्वन्द्वी गुजरात टाइटन्सलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा पाँच विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

आईपीएलको फाइनल आइतबार नै हुनुपर्ने थियो । तर, वर्षाका कारण खेल प्रभावित भएपछि सोमबार फाइनल खेलाइएको हो । सोमबारको खेल पनि वर्षाबाट प्रभावित भएपछि हारजितको निर्णय ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा गरिएको थियो ।

कप्तान महेन्द्रसिंह धोनीको नेतृत्वमा रहेको चेन्नईले पाँचौं पटक आईपीएलको उपाधि चुमेको हो । यसअघि चेन्नईले सन् २०१०, सन् २०११, सन् २०१८ र सन् २०२१ म आईपीएलको उपाधि जितेको थियो ।

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित ओभरमा चार विकेट गुमाएर दुई सय १४ रन बनाएको थियो । चेन्नई जवाफी ब्याटिङमा ओर्लिएपछि पहिलो ओभरमै वर्षा सुरु भएको थियो ।

पहिलो ओभरको तेस्रो बलपछि नै वर्षाका कारण खेल रोकिएको थियो । पहिलो तीन बलमा चेन्नईले केवल चार रन बनाएको थियो । त्यसको केही समयपछि वर्षा रोकिए पनि मैदान सुकाउनु पर्ने भएकाले खेल सुरु हुन निकै समय लाग्यो।

निकै समय खेर गएकाले खेल १५ ओभरमा झारिएको थियो । त्यसपछि चेन्नईले ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा जितका लागि १५ ओभरमा एक सय ७१ रन बनाउनु पर्ने गरी नयाँ लक्ष्य निर्धारण गरिएको थियो ।

त्यसपछि चेन्नईसँग आक्रामक ब्याटिङ गर्नुको विकल्प रहेन । चेन्नईको जितमा ओपनर डेभन कनवेले ४७ रनको योगदान गरे । उनले केवल २५ बलको सामना गरी दुई छक्का र चार चौका पनि प्रहार गरेका थिए ।

कनवे र रुतुराज गायकवाडले ओपनिङ विकेटका लागि ७४ रनको साझेदारी गरे । गायकवाडले १६ बलमा एक छक्का र तीन चौकाको मद्दतले २६ रन बनाए । तेस्रो नम्बरका ब्याट्सम्यान शिवम दुबेले पनि अविजित ३२ रनको योगदान गरे । उनले २१ बलको सामना गरी दुई छक्का प्रहार गरे ।

अजिनक्या रहानेले केवल १३ बलमा दुई छक्का र दुई चौकाको मद्दतले २७ रन बनाए । अम्बाटी रायडुले १९ रन जोडे । उनले आठ बलको सामना गरी दुई छक्का र एक चौका हिर्काएका थिए । रविन्द्र जडेजाले केवल ६ बलको सामना गरी एक छक्का र एक चौकाको मद्दतले अविजित १५ रन जोडे ।

गुजरातका बलर मोहित शर्माले तीन र नुर अहमदले दुई विकेट लिए । त्यसअघि पहिलो ब्याटिङ गरेको गुजरातका लागि साई सुदर्शनले ९६ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले ४७ बलको सामना गरी ६ छक्का र आठ चौका प्रहार गरेका थिए ।

ओपनर ऋद्धिमान शाहले ५४ रन बनाएका थिए । विकेटकिपर ब्याट्सम्यान शाहले ३९ बलको सामना गरी एक छक्का र पाँच चौका प्रहार गरे । अर्का ओपनर शुभमन गिलले २० बलमा सात चौकाको मद्दतले ३९ रन जोडे ।

कप्तान हार्दिक पाण्डेयाले अविजित २१ रन बनाएका थिए । चेन्नईका बलर माथिसा पाथिरनाले दुई विकेट लिए । उक्त खेलमा डेवन कनवे म्यान अफ दि म्याच घोषित भए । म्यान अफ दि सिरिको पुरस्कार भने शुभमन गिलले पाए ।

चेन्नईले अन्तिम ओभरमा जितका लागि १३ रन बनाउनु पर्ने थियो । अन्तिम ओभरको सुरुको चार बलमा केवल तीन रनमात्र बनेको थियो । त्यसपछि अन्तिम दुई बलमा रविन्द्र जडेजाले क्रमशः छक्का र चौका प्रहार गर्दै चेन्नईलाई जित दिलाएका थिए । गुजरात आईपीएलको साविक विजेता टोली हो ।

प्रतिक्रिया दिनुहोस्