Flash News

प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै

१७ जेष्ठ २०८०, बुधबार ०१:४७

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। नयाँ जनमतपछि प्रधानमन्त्री भएका प्रचण्ड पहिलोपटक विदेश भ्रमणमा भारत जान लागेका हुन्।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ।

मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी छन् । टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाललगायत छन्।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ यही जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ। परराष्ट्रमन्त्री एनपी साउदका अनुसार भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई ज्यादा प्रगाढ बनाउन प्रयत्न रहने छ। ब्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोग र ऊर्जाका मुद्दामा बढी जोड दिइने उनको भनाइ छ । भ्रमणका क्रममा पञ्चेश्वर परियोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतका विषयमा समेत टुंगोमा पुग्न प्रयास गर्ने मन्त्री साउदले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले पनि भ्रमणमा सके राम्रो गर्ने नसके कुनै नराम्रो काम नहुने बताउँदै आएका छन्। यतिबेला भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा नेपाली भूमिका नाम राखिएको विषयमा पनि कुरा उठाउन भ्रमण टोलीलाई दबाब छ।

प्रतिक्रिया दिनुहोस्