Flash News

एसिया कप क्रिकेट आयोजना गर्न श्रीलंकाको दाबी

१७ जेष्ठ २०८०, बुधबार ०५:०९

काठमाडौं। एसिया कप २०२३ क्रिकेट आयोजना गर्नका लागि श्रीलंकाले प्रस्ताव गरेको छ ।

एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने तय गरिएको थियो। तर, भारले पाकिस्तान गएर खेल अस्वीकार गर्ने अनि पाकिस्तानले पनि आयोजना स्थल सार्न नमानेपछि एसिया कप कहाँ हुने अन्योल भइरहेको छ।

त्यसैले श्रीलंकाले एसिया कप आयोजनाका लागि इच्छा देखाएको हो। सोमबार श्रीलंका क्रिकेट बोर्डले एसीसीले स्वीकृति दिए एसिया कप आयोजना गर्न आफूहरु तयार रहेको बताएको छ।

‘श्रीलंका क्रिकेट छोटो नोटिसको आधारमा एसिया कप आयोजना गर्ने तयारीमा छ। अब यसको निर्णय एसीसीले गर्नेछ,’ सोमबार श्रीलंका क्रिकेटका अफिसियललाई उदृत गर्दै क्रिकबजले लेखेको छ।

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को फाइनलको अवसरमा भएको छलफलमा बीसीसीआई, श्रीलंका, बंगलादेश र अफगानिस्तान क्रिकेट बोर्डले एसिया कप एउटै स्थलमा आयोजना हुनुपर्नेमा सहमति जनाएका थिए। तर आयोजना स्थल भने तोकिएको छैन ।

पाकिस्तान क्रिकेट बोर्डले पाकिस्तान र यूएई दुई स्थानमा प्रतियोगिता आयोजनजा गर्ने हाइब्रिड मोडल प्रस्ताव गरेको थियो । तर भारतीय क्रिकेट बोर्डले यसलाई अस्वीकार गर्दै आएको छ ।

क्रिकबजका अनुसार बीसीसीआई स्रोतले अब कि एसिया कप कोलम्बोमा हुने कि नहुने अवस्था रहेको छ । श्रीलंका क्रिकेट बोर्डले पनि बीसीसीआईलाई साथ दिएको छ र बीसीसीआईको अनुसार नै अगाडि बढ्ने जनाएको भारतीय मिडियाले उल्लेख गरेको छ ।

एसीसीको आधिकारिक बैठक अर्को साता हुने सम्भावना छ । जसले एसिया कपको बारेमा अन्तिम निर्णय गर्ने अपेक्षा छ ।

आईपीएलको फाइनल अवसरमा भएको अनौपचारिक छलफलमा नेपालबाट नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतर बहादुर चन्द सहभागी थिए । ‘अनौपचारिक छलफल भएको हो । तर अन्य केही निर्णय भएको छैन ।’ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले भने ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको आजदेखि सुरु हुने भारत भ्रमणमा पनि क्यान अध्यक्ष चन्द समावेश हुने पाठकले जानकारी दिए र त्यस अवसरमा दुई देशबीचको क्रिकेटको विषयमा पनि कुरा हुने अपेक्षा रहेको पाठकले बताए ।

एसिया कपमा भारत र पाकिस्तानसँगै नेपाल पनि एकै समूहमा छ । वैशाखमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल एसिया कपमा छनोट भएको हो ।

दुई ठूला टेष्ट राष्ट्रसँग नेपालले खेल्ने अवसर पाएकोले पनि अहिले एसिया कप कहाँ हुन्छ भन्ने चासो नेपाली क्रिकेटप्रेमीलाई धेरै छ । अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

प्रतिक्रिया दिनुहोस्