Flash News

मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने

२४ जेष्ठ २०८०, बुधबार १५:३२

काठमाडौं। अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन छाडेर अमेरिकन क्लब इन्टर मियामी जाने भएका छन् ।

स्पेनिस क्लब बार्सिलोनाका पूर्व स्टार मेस्सीले साउदी अरेबियाका अल हिलालले प्रस्ताव गरेको मोटो रकम त्यागेर अमेरिकी क्लबमा जाने निर्णय गरेका हुन् । उनले मियामीमा जाने निर्णय गर्नुमा एडिडास, एप्पलजस्ता कम्पनीको सहयोग रहेको छ । सात पटक विश्वकै उत्कृष्ट खेलाडी चुनिएका ३५ वर्षका मेस्सीले पहिलो पल्ट युरोप बाहिर खेल्ने निर्णय गरेका हुन् ।

उनले अर्को सिजन पनि युरोपमै खेल्न चाहेका थिए । तर युरोपेली क्लबबाट सन्तोषजनक प्रस्तावहरू प्राप्त नभएपछि उनीसँग इन्टर मियामी वा अल(हिलाल मध्ये एक रोज्नु पर्ने बाध्यता थियो ।

साउदी अरबका लिगमा क्रिस्टियानो रोनाल्डो र करिम बेन्जिमाले पाएको भन्दा बढी रकम उनले पाउन सक्थे । तर त्यो छाडेर मेसी अमेरिकी मेजर लिग सकर क्लब इन्टर मियामीमा परे । मियामीको जीवन शैली, विश्वकै ठूला ब्राण्ड एडिडास र एप्पलसँगको सम्झौता लगायतका कारणले उनी अमेरिकामा लोभिएको हुन सक्ने बिबिसीले जनाएको छ ।

२१ वर्षसम्म खेलेको बार्सिलोना त्यागेर उनी सन् २०२१ मा पिएसजी पुगेका थिए । उनी रहँदा दुवै सिजन पिएसजीले फ्रेञ्च लिग जितेको थियो । तर यसपालि च्याम्पियन्स लिगमा पिएसजी अन्तिम १६ बाटै बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्