Flash News

प्रचण्डलाई भेट्न विप्लव काठमाडौँमा

२२ माघ २०७९, आईतवार ०७:४१

काठमाडौँ। नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पार्टीका बैठक सकेर कलिवस्तुको शिवगढीबाट काठमाडौं आइपुगेका छन्।

गत शनिवार काठमाडौँ आएका विप्लव प्रधानमन्त्री प्रचण्डलाई भेट्न आएका हुन्। प्रधानमन्त्री प्रचण्डसहित नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरालाई भेट्न उनी कपिलवस्तुको  शिवगढीबाट काठमाडौँ आएका हुन्।

पार्टीको सचिवालय, पोलिटब्यूरो र केन्द्रीय समिति बैठक सकेर विप्लव काठमाडौं आएका हुन्। महरालाई भेटे पनि प्रधानमन्त्रीसँग भेट हुन नसकेको विप्लव निकट एक नेताले बताए। प्रधानमन्त्रीसँग  समय माग गरिए पनि पाउन नसकिएको ती नेताले बताए। विप्लव बन्दी बनाइएका आफ्ना नेता कार्यकर्ताको  रिहाई र मुद्दा फिर्ताका विषयमा छलफल गर्न काठमाडौँ आएको हुन सक्ने आकलन गरिएको छ।

यसअघि महरा विप्लवलाई भेट्न शिवगढी गएका थिए। गत पुस ३० गते गृहजिल्ला रोल्पा जानेक्रममा विप्लवलाई महराले भेटेका हुन्। विप्लवले पार्टी एकताका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्