Flash News

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना हो’

६ असार २०८०, बुधबार ०८:०६

पोखरा। नेपालका लागि चिनियाँ राजदूत छन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको बताएका छन्।

बुधवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। यसअघि विमानस्थल उद्घाटनको क्रममा पनि नेपालस्थित चिनियाँ दूतावासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गत बनेको जनाएको थियो।

कार्यक्रममा राजदूत सोङले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ को जनवरीमा शुरुवात भएको हो। यसको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो। चाइनिज इन्जिनियरहरुबाट यो निर्माण भएको हो। अन्ततः हामीले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौँ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा। यो बीआरआई परियोजना अन्तर्गतको हो।’

सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईबीचको सम्झौतापछि १८ साउन २०७३ देखि यो विमानस्थल निर्माण शुरु भएको थियो। सीएएमसीईसँग मूल्य अभिवृद्धि करसहित अमेरिकी डलर २४ करोड ४० लाख ४० हजारमा सम्झौता भएको थियो।

पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग २०७२ मा सम्झौता गरेर १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ।

प्रतिक्रिया दिनुहोस्