Flash News

नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा

१८ असार २०८०, सोमबार ०७:५३

काठमाडौं। नेपाल मलेसियामा चलिरहेको एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ। बायोमास ओभल क्रिकेट मैदानमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो।

जितका लागि १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो। सिंगापुरकाे इनिङ्स कमजाेर बनाउन नेपालका सबै बलरहरुले उत्कृष्ट प्रदर्शन गरे। कृतिक कामतले सर्बाधिक ३ विकेट लिए। उनले २.३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए। कप्तान अभिषेक तिवारी, प्रतीक पाेखरेल, सन्ताेष यादव, अशाेक धामी र नरेनले १/१ विकेट लिए।

सिंगापुरका ओपनर श्रेयन च्यायु २ रनमा आउट भएपछि आएका रहील थाक्करले अर्का ओपनर राेशन रविचन्द्रनसंग मिलेर ४३ रनकाे साझेदारी गरे। रविचन्द्रनले सर्वाधिक २४ रन बनाए भने थाक्करले ७ रन जाेडे। कविर बेर्लियाले ११ र प्रनव धनुकाले १४ रन बनाउनुबाहेक दाेहाेराे अंकको रन छुन सकेनन्।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए।

कोइरालाले ४३ रन बनाए भने निरजकुमार यादव चौथो विकेटका रुपमा ४२ रनमा आउट भए। कप्तान अभिषेक तिवारी २५ रनमा आउट भए। सिंगापुरका हरिहरणले ३ विकेट लिए। नेपालले अब फाइनलमा भोलि मंगलबार घरेलु टोली मलेसियासँग खेल्ने छ। अर्को सेमिफाइनलमा हङकङलाई हराउँदै मलेसियाले नेपालसँगको फाइनल भेट पक्का गरेको हो।

प्रतिक्रिया दिनुहोस्