Flash News

माओवादीको केन्द्रीय समिति बैठक ‘लाइभ’ गर्ने निर्णय विवादित

१६ श्रावण २०८०, मंगलवार ०९:२७

काठमाडौँ। नेकपा माओवादी केन्द्रले मंगलबारदेखि सुरू हुने केन्द्रीय समिति बैठक ‘लाइभ’ (प्रत्यक्ष प्रसारण) गर्ने निर्णय गरेपछि धेरैजसो नेताले असन्तुष्टि जनाएका छन्।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति बैठक ‘लाइभ’ गर्ने प्रस्ताव गरेका थिए। उनको प्रस्तावलाई पदाधिकारी बैठकले अनुमोदन गरेको थियो।

माओवादी केन्द्रले पहिलो पटक केन्द्रीय समिति बैठक ‘लाइभ’ गर्न लागेको हो। यसअघि सत्तारूढ दल कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक पहिलो पटक ‘लाइभ’ गरेको थियो । त्यसकै सिको गर्दै माओवादी केन्द्र पनि केन्द्रीय समिति बैठक ‘लाइभ’ गर्ने तयारीमा जुटेको छ।

कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण बैठक मानिने केन्द्रीय समिति बैठक सार्वजनिक गर्नु उपयुक्त नभएको नेताहरूले बताएका छन् । पूर्व विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका सचिव गणेश साहले ‘लाइभ’ गर्ने विषयमा धेरै नेताको असन्तुष्टि रहेको बताए । ‘बढ्दो प्रविधिसँगै यसको उपयोग गर्नु ठिक हो । केही नेताहरू लाइभ गर्ने विषयमा सकारात्मक छन् । धेरैले पार्टीको आन्तरिक विषय बाहिर सार्वजनिक गर्नु ठिक नभएको बताएका छन् । बुधबार बस्ने स्थायी समिति बैठकमा यसबारे छलफल हुन्छ’, उनले भने ।

प्रविधिको प्रयोग गर्नु सकारात्मक भए पनि अहिलेको अवस्थामा पार्टीको आन्तरिक विषय बाहिर ल्याउन उपयुक्त नभएको उनको तर्क छ । भविष्यमा पार्ने प्रभावबारे गम्भीर छलफल नभइकन महत्त्वपूर्ण बैठक ‘लाइभ’ गर्न नहुने पक्षमा आफू रहेको उनको भनाइ छ ।

यसैगरी ‘लाइभ’ गर्ने विषयमा पोलिटब्यूरो सदस्य रामप्रसाद सापकोटा दीपशिखाले पनि असन्तुष्टि जनाएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस’ राख्दै उनले पार्टी बैठक घर, परिवार र जीवन भएकाले परिवारका अन्तरङ्ग छलफल ‘लाइभ’ गर्न नहुने उल्लेख गरेका छन् । ढुक्कसँग बोल्न र आनन्दसँग सुन्न पाउनुपर्ने उनको धारणा छ ।

‘पार्टी बैठक लाइभ हुनु हुँदैन, पार्टी कमिटी घर हो, परिवार हो, जीवन हो । जीवन, घर, परिवारका अन्तरङ्ग छलफल लाइभ गर्ने विषय होइनन्’, उनले भने, ‘ढुक्कसँग बोल्न पाउनुपर्छ, आनन्दसँग सुन्न पाउनुपर्छ ।’

केन्द्रीय समिति बैठक ‘लाइभ’ गर्ने विषयमा पोलिटब्यूरो सदस्य कमला रोक्काले पनि असन्तुष्टि जनाएकी छन् । कम्युस्नष्ट पार्टीको बैठक गोप्य हुनुपर्ने भन्दै यसविषयमा केन्द्रीय समिति बैठकमा नेतृत्वको ध्यानाकर्षण गराउने बताइन् । उनले कांग्रेसको सिको माओवादीले गर्न नहुने जनाउँदै यदि ‘लाइभ’ नै गर्ने भए खुलामञ्चमा सभा गर्न नेतृत्वलाई सुझाव दिइन् ।

‘कम्युनिस्ट पार्टीभित्र केन्द्रीय समिति बैठकलाई निकै समवेदनशील र गोप्य मानिन्छ । देखाउने नाममा नाङ्गिन त भएन नि १ माओवादी पनि कांग्रेसकै बाटोमा जान खोजेको हो कि रु यस विषयमा बैठकमा कुरा उठाउँछौँ । यदि लाइभ नै गर्ने भए खुला मञ्चमा सभा गरे हुन्छ’, उनले असन्तुष्टि पोखिन् ।

यस विषयमा पोलिटब्यूरो सदस्य धर्मशीला चापागाइँले लाइभ गर्न नदिन आफूहरूले नेतृत्वलाई दबाब दिने बताइन् । पार्टीको आन्तरिक छलफल बाहिर सार्वजनिक गर्नु उपयुक्त नभएको उनको बुझाइ छ ।

‘लाइभ किन गर्न लागिएको हो भन्ने बुझ्न सकिएको छैन । यस विषयमा केन्द्रीय समिति बैठकमा कुरा उठाउँछौं’, उनले भनिन्, ‘पार्टीको आन्तरिक विषय बाहिर ल्याउन हुँदैन । यो रोकिनुपर्छ ।’

यस विषयमा धेरै नेताहरूले असन्तुष्टि जनाए पनि ‘लाइभ’ नरोकिने महासचिव देव गुरुङले जानकारी दिए । ‘लाइभ गर्ने विषयमा प्रावधिक टोलीहरूले गृहकार्य गरिरहेका छन्’, उनले भने, ‘यो रोकिँदैन । अध्यक्षज्यूको फेसबुक पेजबाट लाइभ हुने टुङ्गो लागिसकेको छ । त्यसका लागि प्राविधिकले काम अगाडि बढाएका छन् ।’

केन्द्रीय समिति बैठकको सम्पूर्ण तयारी भइरहेको जानकारी दिँदै उनले बुधबार बस्ने स्थायी समिति बैठकले एजेण्डाको अन्तिम टुङ्गो लगाउने बताए । केन्द्रीय समिति बैठक बुधबार प्रज्ञाभवन कमलादीमा बिहान ११ बजे बस्नेछ । बैठक ५ दिन चल्ने महासचिव गुरुङले जानकारी दिए । रातोपाटीबाट साभार

प्रतिक्रिया दिनुहोस्