Flash News

ल्हासामा प्रधानमन्त्री ‘प्रचण्ड’

१० आश्विन २०८०, बुधबार ०५:५६

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुगेका छन्।

गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहे प्रधानमन्त्री दाहाल चीनको छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा आइपुगेका हुन्।

उनलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत उपसचिव चेन योङ्छीले स्वागत गरेका थिए।

प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने छलफलमा सहभागी हुनेछन्। प्रधानमन्त्री दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्नेछन्।

उनले आजै यहाँको चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। दाहाल आज ल्हासामै बस्नेछन्। उनका साथमा भ्रमण दलका सदस्यहरू परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्य छन्।

यसअघि प्रधानमन्त्री दाहाल मंगलबार बेइजिङबाट छिङछोङ सहर गएका थिए। छिङछोङमा रहँदा उनले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ताका साथै कृषिका क्षेत्रमा छिङछोङ महानगरले गरेको कामकारे जानकारी लिएका थिए।

प्रतिक्रिया दिनुहोस्