काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टर्कीमा आएको विनासकारी भूकम्पमा परी निधन भएकाहरु प्रति दुःख व्यक्त गरेका छन्।
सोमबार बिहान ४ः१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै ७।८ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पमा परी दुई सय जनाभन्दा बढीको निधन भएको र एक हजार भन्दा बढी घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत नेपाल सरकार र नेपाली जनताको तर्फबाट दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। ‘टर्कीमा आएको विनासकारी भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुख व्यक्त गर्दछु। मृतकहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा गहिरो समवेदना प्रकट गर्दछु,’ उनले भनेका छन्।