Flash News

‘बिदाहरू धेरै भए, पुनर्विचार आवश्यक छ’

२४ माघ २०७९, मंगलवार १०:२३

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको भन्दै बिदामा पुनर्विचार आवश्यक भएको बताएका छन्।

मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्रीले सरकारी बिदाहरू धेरै भएकाले जनताका काम गर्ने समय कम भएको र सेवा प्रवाहमा समस्या देखिएको बताए। ‘यसमा पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौं, गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ,’ उनले भने।

प्रधानमन्त्रीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे समेत थप छलफल आवश्यक भएको बताए । उनले भने, ‘हामीले गणतन्त्र दिवस मनाउँछौं, प्रजातन्त्र दिवस मनाउँछौं, लोकतन्त्र दिवस मनाउँछौं। तर, ती सबै कार्यक्रमको चरित्र एउटै छ। त्यसलाई कसरी एकीकृत गर्ने, राष्ट्रिय दिवसमा जनताको सहभागिता कसरी गर्ने भन्नेबारे पनि छलफल आवश्यक छ।’

बैठकले आगामी फागुन ७ गते विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ। त्यसका लागि प्रधानमन्त्रीको संयोजकत्वमा मूल समारोह आयोजक समितिसमेत गठन गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्