काठमाडौं, ८ पुस । जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेश र एपीएफ क्लबले आ-आफ्नो खेलमा जित हासिल गरेका छन् ।
आइतबार सम्पन्न खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई ६० रनले पराजित गरेको हो । कोशी प्रदेशले दिएको १३० रनको लक्ष्य पछाएको मधेश प्रदेशले २० ओभरमा ९ विकेट गुमाएर केवल ६९ रन बनाएपछि कोशी प्रदेश ६० रनले विजयी भएको थियो ।
यसअघि पहिला ब्याटिंग गर्दै कोशी प्रदेशले २० ओभरमा ४ विकेट गुमाएर १२९ रन बनाएको थियो । यो कोशी प्रदेशको लगातार तेस्रो जित हो । यो जितपछि कोशी प्रदेशको ३ खेलमा ६ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।
त्यसैगरि आइतबार नै सम्पन्न खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ९० रनले पराजित गरेको छ । एपीएफले दिएको १५२ रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेशले २० ओभरमा ९ विकेट गुमाएर ६१ रन मात्र बनाएपछि एपीएफ ९० रनले विजयी भएको हो ।
यसअघि एपीएफले २० ओभरमा ३ विकेट गुमाएर १५१ रन बनाएको थियो ।यो एपीएफको लगातार तेस्रो जित हो । यो जितपछि एपीएफको ३ खेलमा ६ अंक भएको छ र अंक तालिकामा शीर्ष स्थानमा रहेको छ । अब एपीएफले सोमबार कोशी प्रदेशको सामना गर्ने छ भने लुम्बिनी प्रदेशले कर्णालीसँग खेल्नेछ ।