Flash News

बालकोटमा प्रधानमन्त्री प्रचण्ड-ओली वार्ता

२५ माघ २०७९, बुधबार ०५:५४

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। अध्यक्ष ओलीसँगको भेटवार्ताका लागि माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड बुधबार बिहान ओली निवास बालकोट पुगेका हुन्।

दुई नेताबीच सरकार सञ्चालन, राष्ट्रपति उपराष्ट्रपति निर्वाचनलगायतका विषयमा कुराकानी भएको बुझिएको छ। राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुँदैछ।

राष्ट्रपतिमा एमाले र कांग्रेसले उम्मेदवारी दिने तयारी गरेका छन् भने माओवादीले राष्ट्रिय सहमति हुनुपर्ने भन्दै आएको छ। राष्ट्रपतिमा माओवादी र एमाले एकमत नहुँदा पुस १० मा बनेको सत्ता गठबन्धन भत्कने हो कि भन्ने संशय पैदा भएको छ।

दुई नेताबीच राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि खाली भएका मन्त्रालयमा कसलाई पठाउने वा नपठाउने भन्ने बारेमा समेत कुराकानी हुने बुझिएको छ। गृह मन्त्रालय नपाएको भन्दै रास्वपा सरकारबाट बाहिरिएको छ। यद्यपि सो पार्टीले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ।

प्रतिक्रिया दिनुहोस्