खेलकुद

एसियन च्याम्पियन्स लिगको राउण्ड १६ को ड्र सार्वजनिक

१२ पुष २०८०, बिहीबार ०९:२५

काठमाडौँ, १२ पुस । यस सिजनको एसियन च्याम्पियन्स लिगको नकआउट चरण (राउण्ड-१६) को ड्र सार्बजनिक भएको छ । बिहीबार भएको ड्र अनुसार राउण्ड १६ मा खेल्ने एशियाका १६ क्लबको प्रतिद्वन्द्वी तय भएको छ । जस अनुसार पश्चिम क्षेत्रबाट राउण्ड १६ मा उज्बेकिस्तानको क्लब नासाफले युएईको क्लब अल ऐन खेल्ने भएका छन् भने साउदी क्लब अल फायहाले अल नासरको सामना गर्ने भएको छ ।

त्यस्तै इरानी क्लब सेपाहानले साउदी क्लब अल हिलालको सामना गर्ने भएको छ भने उज्बेकिस्तानको क्लब नवबाहोरले साउदी क्लब अल इत्तिहादको सामना गर्ने भएको छ ।

त्यस्तै पूर्वी क्षेत्रबाट राउण्ड १६ मा दक्षिण कोरियाको क्लब जेओनबुक हुन्डाई मोटर्सले दक्षिण कोरियाकै पोहांग स्टीलर्ससँग खेल्ने छ भने दक्षिण कोरियाको क्लब उल्सान एचडीले जापानी क्लब भेन्टफोरेट कोफुसँग खेल्ने भएको छ ।

त्यसैगरी चीनको क्लब शानड़ोंग ताइशानले जापानी क्लब कावासोकी फ्रोन्टालेसँग खेल्ने भएको छ भने थाई क्लब बैंकक युनाइटेडले जापानी क्लब योकोहामा एफ मरिनोससँग खेल्ने भएको छ ।

एसियन च्याम्पियन्स लिगको राउण्ड १६ का खेल होम र अवेका आधारमा खेलिने एएफसीले जनाएको छ । जस अन्तर्गत पहिलो लिगका खेलहरु १२ देखि १४ फेब्रुअरी, २०२४ मा हुने छन् भने दोस्रो लिगका खेलहरु १९ देखि २१ फेब्रुअरी, २०२४ मा हुने छन् ।

प्रतिक्रिया दिनुहोस्