खेलकुद

भारतको वण्डर्स नोयडालाई हराउदै पुलिस प्रो क्लब च्याम्पियनसिपको फाइनलमा

१३ पुष २०८०, शुक्रबार १४:०६

काठमाडौँ, १३ पुस । नेपाल पुलिस क्लब वीरगन्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले वण्डर्स क्लब नोयडामाथि ४ रनको रोमाञ्चक जित निकाल्दै फाइनलमा पुगेको हो ।

नेपाल पुलिसले दिएको ११३ रनको लक्ष्य पछाएको नोयडा २० ओभरमा ९ विकेट गुमाउदै १०८ रनमा रोकिएपछि पुलिस ४ रनले विजयी भएको थियो ।

नोयडामाथि रोमाञ्चक जित निकाल्ने क्रममा पुलिसका बलर सगर ढकालले ३, रशिद खानले २ तथा ललित राजबंशी र शेर मल्लले एक एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल पुलिस क्लबले २० ओभरमा ७ विकेट गुमाउदै ११२ रन मात्र बनाएको थियो ।

अब फाइनलमा नेपाल पुलिस क्लबले पर्सा- ११ को सामना गर्ने भएको छ । पर्सा- ११ ले आजै सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

फाइनल खेल शनिबार हुने तालिका रहेको छ । त्यस्तै शनिबार नै तेस्रो स्थानका लागि नेपाल आर्मी र वण्डर्स क्लब नोयडा भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस्