Flash News

रामदेव मरिकको ऋण जनप्रतिनिधिले तिरिदिने

१४ माघ २०७९, शनिबार १६:५३

जनकपुरधाम। गत हप्ता आत्मकत्या गरेका सप्तरीका रामदेव मरिक डोमको ऋण गाउँपालिकाका जनप्रतिनिधिले तिरिदिने भएका छन् ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका जनप्रतिनिधिले आफ्नो तलब भत्ताबाट उनको परिवारले विभिन्न वित्तीय संस्था र व्यक्तिलाई तिर्नुुपर्ने साढे ३ लाख रुपैयाँ तिरिदिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले बताए ।

छिन्नमस्ता गउँपालिका–२ रामपुरका ४५ वर्षीय रामदेव मरिक १० पुसमा घर नजिकै झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । उनले वित्तीय संस्थामा तिनुपर्ने ऋणको किस्ता तिर्न सकेका थिएनन्। शुक्रबार गाउँपालिकाका जनप्रतिनिधिहरुको छलफलले रामदेव परिवारको ऋण अध्यक्ष, वडाध्यक्षलगायत जनप्रतिनिधिको तलब भत्ताबाट तिरिदिने निर्णय गरेको हो।

‘यस्तो दुःखद घटनाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उनको विभिन्न वित्तीय संस्था र गाउँघरको लगाएर साढे ३ लाख रुपैयाँ ऋण रहेको हामीले थाहा पाएका छौं। हामी जनप्रतिनिधि बसेर आफ्नो तलबभत्ताबाट सबै ऋण तिरिदिने निर्णय गरका छौं’ अध्यक्ष चौधरीले भने। उनले एकलाख रुपैयाँ आफ्नोतर्फबाट दिने र बाँकी अरु जनप्रतिनिधिबाट संकलन गरिने बताए। रामदेवका जेठो छोरा राजकुमार मरिकलाई कार्यालय सहयोगीको जागिर दिने पनि अध्यक्ष चौधरीले बताए।

जेठो छोरा राजकुमारको विवाहको लागि रामदेवले २०७८ मंसिरमा ग्लोबल आईएमई लघुवित्त वित्तीयबाट श्रीमती उर्मिला देवी मरिकको नाममा ९० हजार र महुली लघुवित्त वित्तीय संस्थाबाट ८५ हजार गरी रामदेवको परिवारले १ लाख ७५ हजार ऋण लिएको थियो। ग्लोबल आइएमई लघवित्तमा प्रत्येक महिना ५ हजार र माहुली वित्तीय संस्थाको ८ हजार ५ सय रुपैयाँ किस्ता तिरेर केही ऋण भने रामदेवले घटाइसकेका थिए। तर उनको वित्तीय संस्थामा मात्र नभई गाउँघरमा पनि धेरै ऋण रहेको पाइएको अध्यक्ष चौधरीले बताए।

अध्यक्ष चौधरीले गाउँपालिकाभित्र काम गरिरहेका वित्तीय संस्थाका प्रतिनिधिहरुको आइतबार बैठक बोलाएका छन्। ‘हाम्रो पालिकामा गरिब विपन्न तथा दलितहरुको संख्या धेरै छ। वित्तीय संस्थाले कस्ता व्यक्तिलाई कति ऋण दिएको छ भनेर बुझ्न खोजेका छौं, कतै भोलि फेरि यस्तो अवस्था नआओस्’, उनले भने।

दुई कठ्ठा जग्गा मात्र भएका रामदेवले ३५ वटा सुँगुरका पाठा पालेका थिए। हुर्केपछि बेच्ने योजना बनाइरहेका सुँगुर गत जेठमा मरेपछि रामदेव ऋण तिर्न नसक्ने अवस्थामा पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्