विराटनगर । नोबेल अस्पतालको २० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा तीनजना कर्मचारी पक्राउ परेका छन् । अस्पतालको काउन्टरमा संकलन हुनुपर्ने रकममध्ये करिब २० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा तीनजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो । साताअघि रकम हिनामिना भएको पाइएपछि अस्पताल प्रशासनले प्रहरीमा उजुरी दिएको थियो । उजुरीको आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालका अनुसार पक्राउ पर्नेमा काउन्टरमा क्यासियरका रुपमा कार्यरत विराटनगर–१ का ४२ वर्षीय सूर्यप्रकाश बराल, विराटनगर–४ का ३० वर्षीय करणदेव विश्वास र सुनसरीको दुहबी–१२ का २९ वर्षीय राजेशकुमार फौदार छन् अस्पतालको काउन्टरमा सेवाग्राहीबाट विभिन्न कामका लागि भुक्तानी भएको रकम हिनामिना गरेको आरोप उनीहरुमाथि लगाइएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेकाहरुले बिरामीबाट काउन्टरमा संकलित रकम हिनामिना गरेको पाइएको छ । त्यसरी संकलित रकममध्ये केही अंश अस्पतालको खातामा जम्मा गर्ने र अरु रकम आफूहरुले हिनामिना गरेको पाइएको जनाइएको छ ।