Flash News

केशलिया–बुढीखोला करिडोरमा बाँध निर्माण हुने

२० पुष २०८०, शुक्रबार ०४:२९

विराटनगर । हरेक वर्ष वर्षायाममा भलबाढीको समस्या भइरहेकामा त्यसलाई नियन्त्रण गर्न केशलिया–बुढीखोला करिडोरमा बाँध निर्माण गरिने भएको छ । बाँध निर्माण गर्नेबारे हालै अध्ययन गरिएको थियो । उक्त अध्ययनपछि अध्ययनमा संलग्न महेन्द्र सुब्बा र प्रशान्त मल्लले प्रतिवेदन तयार गरी कोशी प्रदेश सरकारलाई बुझाइसकेका छन् ।

सुनसरीको दुहबी नगरपालिका, बर्जु गाउँपालिका र बुढीगंगा गाउँपालिका एवं विराटनगनगर महानगरपालिकालाई छुने उक्त परियोजनाको लागत एक अर्ब ३२ करोड रहने प्रतिवेदनमा उल्लेख गरिएको छ । आगामी तीन वर्षमा सम्पन्न गरिने जनाइएको उक्त परियोजनाले सुनसरीको दुहबीदेखि विराटनगर रानीको भारतीय सीमा क्षेत्रसम्म खोलाको दुवैतर्फ ४२ किलोमिटर बाटो निर्माण गर्नेछ ।

यसका साथै खोलामा बाँध निर्माण र आसपास क्षेत्रको सौन्दर्यीकरण पनि गरिने जनाइएको छ । स्विस सहयोग नियोगको सहयोगमा निर्माण गरिएको उक्त कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हस्तान्तरण गरिएको छ ।

प्रतिवेदन बुझ्दै मुख्यमन्त्री कार्कीले नदीलाई विनास नभई विकासका लागि अगाडि बढाउनु अपरिहार्य रहेको बताए । केशलिया–बुढीखोला करिडोर निर्माणका लागि गरिएको विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले यस क्षेत्र भएर बग्ने केशलिया र बुढीखोला नदीको सौन्दर्यीकरण एवं विकासले  यस क्षेत्रका जनताको आर्थिक समृद्धि एवं रोजगारमा वृद्धि हुने बताए ।

मुख्यमन्त्री कार्कीले करिडोर निर्माणले सुनसरीको बर्जु गाउँपालिकामा निर्माण हुने विशेष आर्थिक क्षेत्र (सेज) मा सहज पहुँच हुने साथै प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुग्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्