कला/मनोरञ्जन

के अभिनेत्री ईशा मालिनीले सम्बन्ध विच्छेद गरेकी हुन् ?

३ माघ २०८०, बुधबार ०३:१०

मुम्बई । बलिउडमा धर्मेन्द्र र हेमा मालिनीलाई आदर्श जोडीका रुपमा चिनिन्छ । यो जोडीले आफ्नो करियरमा कैयौं हिट फिल्म दिएका छन् । आमाबाबुको पाइला पछ्याउँदै फिल्म क्षेत्रमा आएकी छोरी ईशो भने आमाबाबुको जस्तो लोकप्रियता पाउन सकिनन् । यही बीचमा ईशा र उनका पति भरत तख्तानीबीच सम्बन्धविच्छेद भएको खबर सार्वजनिक भएको छ ।

ईशा र भरतले आधिकारिक रुपमा यो कुराको पुष्टि नगरे पनि सामाजिक सञ्जालमा उनीहरु अलग्गिएको खबरले सामाजिक सञ्जाल गर्माएको छ । ईशा र भरतले विवाह गरेको १२ वर्ष पुगेको छ । उनीहरुको दुई छोरी छन् ।

ईशा र भरत अलग भएको दाबी एक रेडिट यूजरले गरेका छन् । ‘ईशा देओे आफ्नो पतिसँगको तस्वीर सामाजिक सञ्जालमा शेयर गर्न बन्द गरेकी छन् । ईशा अहिले अधिकांश समय आमा हेमा मालिनीसँग देखिने गरेकी छन्,’ ती युजरले लेखेका छन् ।

यद्यपि ईशा र भरत अहिले पनि सामाजिक सञ्जालमा एकअर्कालाई फलो गरिरहेका छन् । दुवैले अलग भएको आधिकारिक घोषणा गरेका छैनन । रेडिट यूजरको पोस्ट भाइरल भएपछि सर्वसाधारणले प्रतिक्रिया दिन शुरु गरेका छन् ।

‘उनी दिवाली पार्टीमा पनि एक्लै देखिएकी थिइन् । यसअघि उनी जहिल्यै भरतका साथ पार्टीमा सहभागी हुन्थिन्’ एक प्रयोगकर्ताले लेखेका छन् । अर्का प्रयोगकर्ताले हेमा मालिनीको जन्मदिनमा भरत नदेखिएको दाबी गरेका छन् ।

ईशाले गत नोभेम्बर २ मा आफ्नो जन्मदिन मनाएकी थिइन् । त्यो जन्मदिनमा पति भरत उपस्थित थिएनन् । ईशा र भरतले सन् २०१२ मा विवाह गरेका थिए । उनीहरुको एक छोरीको जन्म सन् २०१७ मा अर्की छोरीको जन्म सन् २०१९ मा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्