विश्व प्रेस

हिजबुल्लाहको इजरायललाई कडा चेतावनी

६ माघ २०८०, शनिबार ०४:४०

काठमाडौं । इजरायल र हमासबीच चलिरहेको युद्धलाई लिएर हिजबुल्लाहले इजरायललाई कडा चेतावनी दिएको छ । लेबनानको इरान समर्थित आतंकवादी समूहका एक शीर्ष अधिकारीले युद्ध लेबनानको सीमासम्म फैलियो भने इजरायलले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका हुन् ।

हिजबुल्लाहका नइम कासिमले इजरायलले द्वन्द्व बढाउने निर्णय गरेमा त्यसको उचित जवाफ र मुखमा वास्तविक थप्पड दिने चेतावनी दिएका छन् । इजरायली वायुसेनाले इजरायल–लेबनान सीमा नजिकैको गाउँ केफर किलामा चार घरहरूलाई निशाना बनाएको छ ।

केफरका मेयर हसन चिटेले संयोगवश इजरायली वायुसेनाको आक्रमणमा ध्वस्त भएका घरमा कोही नभएको बताए । शुक्रबार हिजबुल्लाहले तीनवटा आक्रमणको दाबी गरेको थियो, जसमा धेरै घरहरू ध्वस्त भएको भनिएको थियो। बुधबार इजरायली सेना प्रमुख हार्जी हालेवीले इजरायल र हिजबुल्लाहबीचको तनाव आगामी महिनाहरूमा बढ्न सक्ने बताएका थिए ।

गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले आक्रमण गर्दा इजरायल र हिजबुल्लाहको सीमामा भारी गोलीबारी भएको थियो । रिपोर्टका अनुसार इजरायलसँग जोडिएका सीमावर्ती गाउँहरूमा पनि बमबारी गरिएको थियो । लेबनानमा भएको हिंसामा कम्तिमा १ सय ४२ हिज्बुल्लाह आतंककारीसहित १९५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्