Flash News

धनुष अभिनित क्याप्टेन मिलरमाथि कथा चोरीको आरोप

९ माघ २०८०, मंगलवार ०२:३९

मुम्बई । अभिनेता धनुषा अभिनित प्रदर्शनरत फिल्म ‘क्याप्टेन मिलर’माथि कथा चोरीको आरोप लागेको छ । अरुण माथेश्वरन निर्देशित यो फिल्ममाथि तमिल लेखक तथा अभिनेता वेला रामामूर्तिले कथा चोरीको आरोप लगाएका हुन् ।

वेला तमिल उपन्यास र कविता लेखनमा परिचित छन् । उनले ‘क्याप्टेन मिलर’ आफ्नो उपन्यास ‘पट्टथु यानै’को कपि रहेको आरोप लगाएका छन् । उनले बिना अनुमति उपन्यासलाई आफ्नो स्वामित्वमा लिएर फिल्म बनाएको भन्दै निर्माताको आलोचना गरेका छन् ।

‘यो फिल्मको कथा मेरो उपन्यास ‘पट्टथु यानै’मा आधारित छ । मलाई यो चोरीका लागि न्याय चाहिएको छ । तमिल फिल्म उद्योगमा इमान्दारी बाँचेको छैन । यो मुद्धालाई म तमिल सिनेमा डाइरेक्टर्स युनियनसम्म लिएर जानेछु । मलाई आशा छ कि फिल्ममेकर भारतीराजाले मलाई न्याय गर्नेछन्’, वेलाले भनेका छन् ।

उनले आफू लोकप्रिय हुन र पैसा कमाउन यो मुद्धा नउठाएको बताए । उनले आफूले न्याय पाउनमात्र माग उठाएको जनाए । वेलाले हालसम्म रजनीकान्तको ‘अन्नात्थे’, ‘सेतुपति’ र ‘कीदारी’ जस्ता फिल्ममा अभिनय गरिसकेका छन् । यसबाहेक उनले धनुषको फिल्म ‘एनाई नोक्की पायुम थोटा’मा धनुषको पिताको भूमिका निर्वाह गरिसकेका छन् ।

फिल्म ‘क्याप्टेन मिलर’मा धनुष फरक अवतारमा देखिएका छन् । यो फिल्मको कथा भारत स्वतन्त्र हुनुअघिको हो । फिल्मले ‘क्याप्टेन मिलर’को कथा बोल्छ । उनी पहिला ब्रिटिस आर्मीका सदस्य थिए । तर ब्रिटिसहरुबाट जोगिन उनले आफ्नो गाउँको सुरक्षा गरिरहेका छन् । किनकी ब्रिटिसहरु उनको गाउँमा लुकेर रहेको गहना लुट्न चाहन्छन् । गत १२ जनवरीबाट रिलिज यो फिल्मले घरेलु बक्सअफिसमा हालसम्म ४३ करोडको व्यापार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्