Flash News

रोनाल्डोको चार गोल, करियरको ६१औं ह्याट्रिक

२७ माघ २०७९, शुक्रबार ०५:४८

काठमाडौं। क्रिस्टियानो रोनाल्डो एक्लैले चार गोल गर्दा साउदी प्रो लिगमा अल नासरले अल वेहदालाई ४-० ले पराजित गरेको छ।

अल नासरका लागि पहिलो गोल गरेसँगै रोनाल्डोले लिग फुटबलमा ५०० औं गोल समेत पूरा गरे। चार दिनअघि मात्रै ३८औं जन्मदिन मनाएका रोनाल्डोले पाँच फरक देशका लिग खेल्दा कूल ५०३ गोल गरेका हुन्।

अल नासरका लागि रोनाल्डोले २१औं, ४०औं र ५३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए भने ६१औं मिनेटमा चौथो गोल गरेका थिए।रोनाल्डोले लिगमा रियल मड्रिडका लागि सर्वाधिक ३११ गोल गरेका छन्।

यस्तै म्यानचेष्टर युनाइटेडका लागि १०३, युभेन्ट्सका लागि ८१, स्पोर्टिङ लिस्वनका लागि ३ र अल नासरका लागि ५ गोल गरेका छन्।रोनाल्डोले करियरको ६१औं ह्याट्रिक पनि पूरा गरे। उनले रियलका लागि सर्वाधिक ४४ ह्याट्रिक गर्दा पोर्चुगलको लागि १० ह्याट्रिक गरेका छन्।

म्यानचेष्टर युनाइटेड र युभेन्ट्सबाट समान ३ ह्याट्रिक गर्दा अल नासरबाट पहिलो ह्याट्रिक गरेका हुन्। अल नासर जितपछि १६ खेलबाट ३७ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ। १७ खेलबाट समान ३७ अंक नै जोडेको अल शाबब गोल अन्तरमा पछि छ।

प्रतिक्रिया दिनुहोस्