Flash News

एकीकृत समाजवादीसँग वामदेवका चार सर्त

१५ माघ २०७९, आईतवार ०३:१३

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग वामदेव गौतमले पार्टी प्रवेश गर्न चार सर्त राखेका छन् ।

नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाललाई पार्टी प्रवेश गराएका अध्यक्ष नेपालले गौतमसँग पनि कुरा गरेका थिए ।‘अब अलग्गै नबस्नुहोस्, एउटै पार्टीमा बसेर बाँकी कुरा गरौंला भन्नुभएको छ,’ एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन् । उनका अनुसार, वामदेवले राखेको सर्तमा पार्टीभित्र छलफल गर्न सकिने अध्यक्ष नेपालले बताएका छन् ।

तर गौतमले भने अलग्गै पार्टीको नेतृत्व गरिरहेकाले थप छलफल नगरी पार्टी प्रवेश नगर्ने बताएका छन् । गौतमको सर्तमा तीन वटा सैद्धान्तिक विषय छन् ।

पहिलो, जनताको बहुदलीय जनवाद ‘जबज’लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने गौतमको सर्त छ । एमालेले पाँचौं महाधिवेशनपछि जबजलाई मार्गदर्शक सिद्धान्त मान्दै आएको छ । तर एकीकृत समाजवादीका नेताहरुले भने अब मार्क्सवाद(लेनिनवाद मात्रै मार्गदर्शक सिद्धान्त हुने बताउने गरेका छन् ।

गौतमको दोस्रो सर्त हो, प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री । यो विषयमा पनि छलफल गर्न सकिने एकीकृत समाजवादीका नेताहरुले बताउने गरेका छन् । तेस्रो सर्तका रुपमा गौतमले समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने भनेका छन्।

यसबाहेक भने गौतमले आफूले नेतृत्व गरेको समूहका नेताहरुलाई व्यवस्थापनको प्रतिबद्धता मागेका छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ विभाजनपछि कुनै समूहमा नलागेका गौतमले केही व्यक्ति समावेश गरी नेकपा एकता राष्ट्रिय अभियान बनाएका छन् ।

‘वामदेव गौतमको धेरैजसो सर्तमा प्रतिबद्धता जनाउन कुनै अप्ठ्यारो छैन । संवैधानिक विषय भएकाले हामीले भनेर मात्रै हुने पनि होइन’, एकीकृत समाजवादीका ती नेता भन्छन् । गत ४ मंसिरको चुनाव अगाडि भने गौतमले नेकपा माओवादी केन्द्रमा मिसिन खोजेका थिए । माओवादी केन्द्रकै चिह्नबाट चुनाव लड्ने निर्णय गरे पनि गौतमले टिकट पाएनन् ।

गौतमले चुनाव लड्न चाहेको प्यूठानबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल उम्मेदवार बनिन् । आफूले टिकट नपाएपछि गौतम अहिले फेरि एकीकृत समाजवादीसँग सर्त राखेर पार्टी प्रवेशको छलफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्