कला/मनोरञ्जन

लिभरपुलले जित निकाल्दा सिटी बराबरीमा रोकियो

६ फाल्गुन २०८०, आईतवार ०४:३९

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुलले शानदार जित निकाल्दा दोस्रो स्थानको म्यानचेस्टर सिटी भने बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको छ । शनिबार राति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । लिभपुलको जितमा ३५ औं मिनेटमा डार्विन ग्याब्रिएल नुनेज, ५५ औं मिनेटमा एलेक्सिस एलिस्टर, ६८ औं मिनेटमा मोहमद सलाह र ८६ औं मिनेटमा कोडी म्याथेसले एक गोल गाल गरेका थिए । ब्रेन्टफोर्डका लागि इभान टोनीले ७५ औं मिनेटमा गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।

जितसँगै लिभरपुल ५७ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने ब्रेन्टफोर्ड २५ अंकका साथ १४ औं स्थानमा छ । यसैगरी म्यानेचस्टर सिटीले चेल्सीसँग अंक बाडेको छ । सिटी र चेल्सीले एक एक गोलको बराबरी खेल्दै एक एक अंक लिएका छन् । रहिम स्र्टलिङले ४२ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, ८३ औं मिनेटमा रोड्रिले गोल गरेपछि सिटीले बराबरी गर्दै एक अंक लिन सफल भयो । बराबरीले सिटी ५३ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहँदा चेल्सी ३५ अंकका साथ १० औं स्थानमा छ । यसैगरी बर्नलेमाथि ५–० को एकतर्फी जित निकालेको आर्सनल तालिकाको दोस्रो स्थानमा छ ।

 आर्सनलको जितमा बकायो साकाले व्यक्तिगत २ गोल गर्दा मार्टिन ओडोगार्ड, लियोनार्दो ट्रोसान्ड र केइ हार्भाटेजले एक एक गोल गरेका थिए । आर्सनलसँग पराजित भएको बर्नले भने १३ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

अन्य खेलमा एस्टन भिल्लाले फुलह्यामलाई २–१ गोल अन्तरले पराजित गर्दा वुल्भ्सले टोटनह्यामलाई पनि २–१ को अन्तरमा स्तब्ध बनाएको थियो । त्यसैगरी नटिङघम फरेस्टले वेस्टह्याम युनाइटेडलाई २–० ले हार चखाउँदा न्युक्यासल युनाइटेड र एफसी बर्नमाउथले २–२ गोलको बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्