Flash News

भारतसँगको सीमावर्ती क्षेत्रका सीमास्तम्भहरुको अनुगमन गरिँदै

१४ फाल्गुन २०८०, सोमबार ११:०३

विराटनगर । भारतसँग सीमा जोडिएको सुनसरीका विभिन्न क्षेत्रमा रहेका सीमा स्तम्भहरुबारे अध्ययन गर्न थालिएको छ । यसका लागि सुरक्षा निकायका अधिकारीहरु सहितको टोलीले सीमा क्षेत्र भ्रमण सुरु गरेको छ । जिल्ला सुरक्षा समिति सुनसरीको निर्णयअनुसार नेपाल–भारत अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा ५ दिने सीमा पैदल यात्रा तथा अन्तर्क्रिया पनि गर्न थालिएको छ ।

भारतसँग सीमा जोडिएको सुनसरीको ६१.९ किलोमिटर क्षेत्रको अनुगमन थालिएको हो । सीमा पैदल यात्राका क्रममा प्रारम्भिक चरणमा सशस्त्र प्रहरी बल नेपाल बीओपी साहेवगञ्ज र सशस्त्र प्रहरी बल नेपाल बीओपी घुस्कीमा अन्तरक्रिया गरिएको छ । त्यसक्रममा सीमासँग सम्बन्धित विषयमा विभिन्न सरोकारवाला निकाय, स्थानीय जनप्रतिनिधि, सर्वसाधारण, राजनीतिक दलक स्थानीय नेतासहित उपस्थित रहेका थिए ।

अन्तरक्रिया कार्यक्रममा सुनसरीका प्रदेश सांसद इस्राइल मन्सुरी, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल नेपाल बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय पकलीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेल सहभागी थिए ।

त्यसैगरी, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसहित सुरक्षा निकायका प्रमुखहरू, स्थानीय जनप्रतिनिधि, सीमास्थित सशस्त्र प्रहरी बलका अधिकारी, नेपाल प्रहरीका युनिटका प्रमुखहरू, स्थानीयबासी, बुद्धिजीवी, समाजसेवीहरूको पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्