Flash News

‘चलचित्र सामाजिक रुपान्तरणको महत्वपूर्ण माध्यम’

५ चैत्र २०८०, सोमबार १४:१४

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले चलचित्र सामाजिक रुपान्तरणको सशक्त र महत्वपूर्ण माध्यम भएको बताएका छन् ।

काठमाडौंमा सोमबार सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै उनले चलचित्र सामान्य नभई समाज परिवर्तनका लागि प्रभावकारी विधा भएको बताएका हुन् ।

उनले भने, ‘मैले पछिल्लो समयमा व्यस्तताका कारण त्यत्ति धेरै नेपाली चलचित्र हेर्ने अवसर त प्राप्त गर्न सकेको छैन तर मलाई थाहा छ चलचित्र भनेको सामान्य विधा होइन । यो सामाजिक रुपान्तरणको सशक्त र महत्वपूर्ण माध्यम हो ।’
उनले अहिलेको व्यवस्था, संविधान परिवर्तनमा पनि चलचित्र क्षेत्रको ठूलो भूमिका रहेको टिप्पणी गरे ।

उनले भने, ‘हामीले जुन व्यवस्था, संविधान प्राप्त गरेका छौं । त्यसको मूल आधार भनेको १० वर्षको जनयुद्ध हो र त्यो जनयुद्धको सवालमा पनि अहिले चलचित्रकर्मीहरुले विभिन्न ढंगले विषयवस्तु बनाइराख्नुभएको छ । त्यसको माध्यमद्वारा जनयुद्धको सकारात्मक र नकारात्मक दुवै पक्षहरु उजागर गर्ने काम भएको छ । त्यसैले यो चलचित्रको महत्व र आयाम प्रष्ट्याउन मात्र खोजेको हुँ ।’

चलचित्रले विषयहरु समाजबाट टिप्ने र परिवर्तनको सन्देश दिने भएकाले समाजले धेरै कुरा यसमार्फत थाहा पाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्