Flash News

भारतीय विदेश सचिव क्वात्रा काठमाडौँ आइपुगे

१ फाल्गुन २०७९, सोमबार ०५:५९

काठमाडौँ। तीन दिने नेपाल भ्रमणका लागि भारतीय विदेश सचिव विनय मोहन क्वात्रा काठमाडौँ आइपुगेका छन्।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आएका विदेश सचिव क्वात्राले आफनो दुई दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन्। सोमबार र मंगलबार उनले प्रधानमन्त्री देखी राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम तय भएको छ।

सोमबार बिहान काठमाडौँ उत्रेका भारतीय विदेश सचिव क्ववात्राले नेपाल भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनेछन् । सो छलफल पछि परराष्ट्र सचिव पौडेलले उनको सम्मानमा आयोजित लञ्च कार्यक्रममा सहभागी हुनेछन् । परराष्ट्र सचिवले दिएको लन्च पछि भारतीय विदेश सचिवले परराष्ट्र मन्त्री विमला राईसँग द्वि–पक्षीय भेटघाट गर्नेछन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन् । सोमवार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ । उनी त्यसका लागि बालकोट जानेछन् ।

विदेश सचिव क्ववत्राले मंगलवार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटघाट गर्नेछन् । मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरे पछि उनी स्वदेश फर्कने कार्यक्रम तय भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्