काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा लखनऊ सुपर जायन्टस विजयी भएको छ । आइतबार राति भएको खेलमा लखनऊले गुजरात टाइन्टन्सलाई ३३ रनले पराजित गरेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको लखनऊले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाएको थियो । जवाफमा गुजरात १८.५ ओभरमा सबै विकेट गुमाउँदै १३० रनमा समेटियो ।
पहिला ब्याटिङ गर्दा लखनऊको सुरुआत भने राम्रो रहेन । क्विन्टन डी कक एक छक्काको मद्दतले ६ रन बनाएर आउट भएका थिए । दोस्रो विकेटको रुपमा देवदत्त पडिकलले सात बलमा ७ रन बटुल्दै पभेलियन फर्किए । त्यसपछि कप्तान केएल राहुल र मार्कस स्टोनिसले पारि सम्हालेका थिए । राहुल र स्टोनिसबीच ६२ बलमा ७३ रनको साझेदारी भएपछि लखनऊको पारि केही उकासिएको थियो । तेस्रो विकेटको रुपमा राहुल आउट हुँदा लखनऊले १२.४ ओभरमा ९१ रन बनाएको थियो । उनी व्यक्तिगत ३३ रन बनाएर आउट भएका थिए । ३१ बल फेस गर्दा राहुलको ब्याटबाट ३ चौका प्रहार भयो ।
त्यसपछि भने स्टोनिस र निकोलस पुरनले मोर्चा सम्हालेका थिए । तर, स्टोनिस ४३ बलमा ५८ रनको अर्धशतकीय पारि खेलेर आउट हुँदा १४.५ ओभरमा लखनऊले ११२ रन बनाएको थियो । स्टोनिसले आफ्नो पारिमा २ छक्का र चार चौका प्रहार गरे । आयुस बाडोनीले ११ बलमा २० रन बनाएर आउट हुँदा निकोल पुरन र क्रुनाल पाण्डेले नटआउट पारि खेले । पुरनले २२ बलमा ३२ रन बनाउँदा तीन छक्का प्रहार गरे भने पाण्ड्याले २ रन बनाए ।
गुजरातका उमेश यादव र दर्शन नलकन्डेले समान दुई–दुई विकेट लिँदा रासिद खानले १ विकेट हात पारे ।
जवाफमा मध्यम सुरुआत गरेको गुजरातको मिडिल अर्डर चल्न सकेन । पहिलो विकेटका लागि साई सुदर्शन र कप्तान शुभमन गिलले ५४ रनको साझेदारी गरेका थिए । गिल २१ बलमा १९ रनको जोडेर पहिलो विकेटका रुपमा आउट भएका थिए । गिलपछि लगातार विकेट गुम्दा १०० रनभित्र गुजरातको ७ विकेट पतन भएको थियो । केन विलिम्सन १, बीआर शरथ २ रन बनाएर आउट हुँदा ओपनर साइ सुदर्शन २१ बलमा ३१ रनको पारि खेलेर पभेलियन फर्किए । त्यसपछि बिजय शंकरले १७ रन जोड्दा दर्शन नलकण्डेले १२ रन बनाए । राहुल टेबटियाले ३० रन बनाउँदा रासिद खानले खाता नै खोल्न सकेनन् । उमेश यादव २ रनमा आउट हुँदा स्पेनसर जोनसोनले पनि खाता खोल्न असमर्थ भए । नुरु अहमद अन्तिम विकेटको रुपमा आउट हुँदा उनले ४ रन जोडेका थिए ।
गुजरातको पारिलाई ध्वस्त पार्नका लागि यस ठाकुरले ३० रन खर्च गरेर ५ विकेट लिए । यसैगरी क्रुनाल पाण्ड्याले ३ विकेट हात पार्दा रवि विश्नोइ र नभिन उल हकले पनि एक– एक विकेट लिए ।
जारी आइपीएलमा लखनऊको यो लगातार तेस्रो जित हो । आफ्नो पहिलो खेलमा पराजय भोगेको लखनऊ त्यसपछि उत्कृष्ट कमब्याक गर्दै चार खेलबाट ६ अंक बनाएर तालिकाको तेस्रो स्थानमा रहेको छ । गुजरालको भने पाँच मध्य यो तेस्रो हार हो । गुजरात ४ अंकका साथ तालिकाको सातौं स्थानमा छ ।