Flash News

नामिबियाद्वारा नेपाललाई २८६ रनको लक्ष्य प्रस्तुत

२ फाल्गुन २०७९, मंगलवार ०६:५८

काठमाडौं। माइकल भान लिगेनले शानदार शतक प्रहार गरेपछि आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत शृखंलाको पहिलो खेलमा नामिबियाले घरेलु टोली नेपाललाई २८६ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले भान लिगेनले १३३ रन बनाएपछि ५० ओभरमा सबै १० विकेट गुमाएर २८५ रन बनाएको हो।

कप्तान जेर्हार्ड एरासमसले अर्धशतक प्रहार गरे। लिग टु अन्तर्गत पछिल्लो पटक डिसेम्बरमा नामिबियामै भएको खेलमा पनि भान लिगेनले शतक र एरासमसले अर्धशतक प्रहार गरेका थिए।

बलिङतर्फ नेपालका लागि करण केसीले ५ विकेट लिए। ११औं ओभरभित्रै दुवै ओपनर आउट हुँदा ४५-२ को अवस्थामा रहेको नामिबियाको इनिङ्स उनै भान लिगेन र कप्तान जेर्हार्ड एरासमसले सम्हालेका थिए। यी दुईले तेस्रो विकेटका लागि १२४ रनको साझेदारी गरे । त्यसअघि लो हान्ड्रे लाउरेन्स ५ र कार्ल बिर्केन्स्टोक १३ रन बनाएर आउट भए।

भान लिगेनले १३७ बल खेल्दै ९ चौका र ५ छक्का मद्दतमा १३३ रन बनाए। भान लिगेनले ओडिआईमा तेस्रो शतक हो भने नेपाल विरुद्ध उनले लिग टु मा लगातार दोस्रो शतक प्रहार गरेका हुन्। यसअघि डिसेम्बरमा नामिबियामै भएको लिग टु खेलमा उनले नेपाल विरुद्ध १२१ रन बनाएका थिए।

तेस्रो ओभरै तेस्रो नम्बरमा ब्याटिङ गरेका भान लिगेनलाई नेपालका करण केसीले ४७औं ओभरमा दीपेन्द्र सिंह ऐरीबाट क्याचबउट गराएका हुन्। कप्तान एरासमसले ७९ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ५६ रन जोडे । विकेटकिपर जान ग्रीनले १९ बलमा ३४ रन बनाउदा ४ चौका र १ छक्का प्रहार गरे।

जान फ्रांकलिनले १३ र जान निकोल लोफ्टी एटोन ८ रनमा आउट भए । पिक्की या फ्रान्स २ रनमा आउट भए। नेपालका लागि करण केसीले १० ओभरमा १ मेडन राख्दै ६१ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । नाबालिका बलात्कारका आरोपी सन्दीप लामिछानेले ६६ रन दिएर ३ विकेट लिए। बलात्कारको आरोप लागेका व्यक्तिलाई राष्ट्रिय टिममा राखेको भन्दै नेपाल क्रिकेट संघको चर्को आलोचना भए पनि उनी मैदान उत्रिएका थिए।

सोमपाल कामीले र कुशल मल्लले १-१ विकेट लिए । सोमपालले खेलको तेस्रो ओभरमै नेपालका लागि पहिलो विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्