कर्णाली प्रदेश

हुम्लाको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी महिलाको मृत्यु

११ बैशाख २०८१, मंगलवार ०२:१८
हुम्ला–हुम्लाको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी महिलाको मृत्यु भएको छ । आइतबार रोडिकोट स्वास्थ्य चौकीमा बच्चा जन्माएको केही समयपछि २८ वर्षीया गर्भवती रीता देवकोटाको मृत्यु भएको हो ।
देवकोटाले बच्चालाई जन्म दिएको साढे एक घण्टापछि मृत्यु भएको हो । मृतक देवकोटालाई शुक्रबारदेखि पानी बग्ने समस्या देखिएपनि आफन्तले ढिला आइतबार विहान ११ बजे मात्रै स्वास्थ्य चौकी पु¥याउँदा समस्या उत्पन्न भएको स्वास्थ्य चौकीका इन्चार्ज टिका बोहराले बताए । इन्चार्ज बोहराका अनुसार आफन्तले भूतप्रेत लागेको भन्दै सुत्केरी व्यथाले च्यापेको एक दिनपछि मात्रै स्वास्थ्य चौकीमा ल्याउँदा समस्या भएको हो ।
रोडिकोट स्वास्थ्य चौकीमा कार्यरत अनमीलगायत सबै स्वास्थ्यकर्मी लागि परेर रातिको साढे दश बजे बच्चा जन्माउन सफल भएपनि त्यसको केही समयपछि देवकोटाको मृत्यु भएको उनले बताए । ‘बच्चा जन्माउनु अगाडि रगत बग्ने समस्या थियो,’ उनले भने, ‘बच्चा जन्माएपछि रगत बग्न रोकिए थियो  तर, त्यसको केही समयपछि मृत्यु भयो ।’ मृतक देवकोटाको उद्धारका लागि खबर गर्न रात परिसकेको हुनाले थप समस्या निम्तिएको उनको भनाइ छ ।
जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहरासँग परामर्श लिएर बच्चा सकुशल जन्माएपनि दुर्भाग्यबस आमालाई बचाउन नसकिएको उनले बताए । यसअघि देवकोटालाई सर्केगाड स्वास्थ्य शाखामा उपचार गराउँदा समस्या रहेको बताउँदा घरपरिवारले कुनै चासो नराखेको स्वास्थ्यकर्मी बताउँछन् । देवकोटाले पहिलो सन्तानका रुपमा छोरी जन्माएकी थिइन् ।
✍️सुन्दर रावत
Source : Routine of Humla

प्रतिक्रिया दिनुहोस्