Flash News

प्रेस स्वतन्त्रताको संरक्षण र कार्यान्वयन गर्न सरकार प्रतिबद्ध, कानुन निर्माण सरकारको प्राथमिकता : मन्त्री शर्मा  

२१ बैशाख २०८१, शुक्रबार ०४:५३

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविना लोकतन्त्र पूर्ण हुन नसक्ने उल्लेख गर्दै संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रतालाई संरक्षण र कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवस २०२४ को अवसरमा आज शुभकामना दिँदै मन्त्री शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविना लोकतन्त्र पूर्ण हुन नसक्ने बताएकी हुन् । मन्त्री शर्माले प्रेस स्वतन्त्रतालाई थप सुनिश्चित गर्न सरकारले एक वर्षदेख सञ्चारसँग सम्बन्धित कानुन निर्माण तथा पुनरावलोकनको काम गरिरहेको जानकारी दिएकी छन् ।

मन्त्री शर्माले भनेकी छन् ,‘सञ्चारसम्बद्ध संस्था तथा यस क्षेत्रका विज्ञहरुको राय सुझावका आधारमा कानुनको मस्यौदा गर्ने, त्यसमाथि सरोकारवाला र आम नागरिकको रायसुझाव समेत लिएर पारदर्शी र लोकतान्त्रिक विधिबाट कानुन निर्माण गर्ने कार्यलाई सरकारले प्राथमिकता दिएको छ ।’

यस्तै आम सञ्चार क्षेत्रको स्वनियमन प्रवर्धनमा केन्द्रित रहेर तयार गरिएको मिडिया काउन्सिल विधेयक संघीय संसदमा दर्ता भैसकेको र आम सञ्चार विधेयक पनि पूर्वविधायिकी चरण पूरा गर्ने प्रक्रियामा रहेको उल्लेख गरेकी उनले प्रेस स्वतन्त्रतालाई बलियो बनाउन सरकार दृढ रहेको चर्चा गरेकी छन् ।

‘प्रेस स्वतन्त्रतालाई बलियो बनाउन सूचनाको हकसम्बन्धी ऐन, श्रमजीवी पत्रकार ऐनलगायत विद्यमान कानुनको कार्यान्वयनमा पनि सरकार दृढ छ । प्रेस स्वतन्त्रताको प्रत्याभूतिमा देखिएका डिजिटल लगायतका चुनौती कम गर्न राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरिएको छ भने नागरिकले सत्य सूचना जान्न पाउने अधिकार स्थापित गर्न साइबर सचेतनाका कार्यक्रममा जोड दिइएको छ,’ मन्त्री शर्माले भनेकी छन् ।

प्रेस स्वतन्त्रताको लागि क्रियाशील राष्ट्रिय÷अन्तर्राष्ट्रिय संस्थाहरुको चासोलाई सरकारले नजिकबाट हेरिरहेको उल्लेख गर्दै मन्त्री शर्माले पत्रकारिता र पत्रकारको पेशागत तथा भौतिक सुरक्षाका सवालमा सरकारले कसैसँग कुनै पनि खालको सम्झौता नगर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्