Flash News

सार्क महासचिव बंगलादेशबाट

८ फाल्गुन २०७९, सोमबार ०६:५५

काठमाडौँ। पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० मा आफ्नो छिमेकी अफगानिस्तानबिनै अघि बढ्न सहमति दिएपछि सार्क सचिवालयमा नयाँ महासचिव बंगलादेशबाट आउने टुंगो लागेको छ । अध्यक्ष राष्ट्र नेपाल र सार्क सचिवालयको लगातारको प्रयासपछि सार्क सचिवालय नेतृत्वविहीन हुनबाट जोगिएको छ ।

सार्कका महासचिव इसला विराकोनको आगामी फागुन १६ देखि तीनवर्षे कार्यकाल सकिँदै छ । उनी श्रीलंकाका हुन् । त्यसपछि सचिवालयको नेतृत्व खाली हुने र त्यसले क्षेत्रीय संगठनमा नकारात्मक प्रभाव पर्ने अवस्था थियो । सार्कको संस्थापक मुलुक पाकिस्तानले हालका लागि अफगानिस्तानलाई छाडेर अघि बढ्न सकिने सहमति दिएपछि सचिवालयको नेतृत्व टुंगो लागेको हो ।

‘हामीले क्षेत्रीय सहकार्यलाई रोक्न हुन्न भन्ने हो, अफगानिस्तानको नयाँ सरकारलाई सार्कसहित विश्वका कुनै पनि मुलुकले मान्यता नदिएकाले हामी अहिलेका लागि महासचिव नियुक्तिमा अफगानिस्तानलाई छाडेर बंगलादेशमा जान तयार भएका हौं,’ काठमाडौंस्थित एक पाकिस्तानी कूटनीतिज्ञले कान्तिपुरसँग भने । परराष्ट्र स्रोतका अनुसार अब केही दिनपछि बंगलादेश सरकारले सार्क महासचिव नियुक्त गरेर नेपालमा पठाउनेछ । अफगानिस्तानलाई कुरेर बसिरहने हो भने सार्क सचिवालयमा महासचिवविहीन हुने अवस्था छ ।

श्रीलंकाका महासचिवले जिम्मेवारी पूरा गरेपछि सार्क सचिवालयमा महासचिवको नेतृत्व गर्ने जिम्मा सार्कको कान्छो सदस्य मुलुक अफगानिस्तानको हो । सार्क सचिवालयको नेतृत्व अंग्रेजी अल्फाबेटअनुसार चयन हुने गर्छ । अफगानिस्तान सन् २००७ मा सार्कको सदस्य बनेको थियो । नेपालसहित सात मुलुक सहमतिमै ‘ए’ अफगानिस्ताको सट्टा ‘बी’ बंगलादेशमा गएका हुन् । अघिल्लो पटक काबुलमा तालिवान सरकार हुँदा पाकिस्तानले मान्यता पाएको थियो ।

सन् २०२१ को अगस्टमा दोस्रो पटक तालिवान सत्तामा फर्केपछि भने पाकिस्तानले मान्यता दिएको छैन । यसअघि पाकिस्तानले अफगानिस्तानलाई छाडेर अघि बढ्न नहुने धारणा राखिरहेको थियो । तर अफगानिस्तानलाई लिएर अगाडि बढ्दा सार्क सचिवालय नै नेतृत्वविहीन हुने अवस्था आएपछि पाकिस्तानले बंगलादेशबाट महासचिव पठाउन सहमति जनाएको कूटनीतिक स्रोतले बतायो । ‘सुरुआतमा सचिवालयमा अफगानिस्तानलाई छाडेर बंगलादेशमा जाने सवालमा नेपाल, बंगलादेश र श्रीलंका सहमत भए, भारतले पनि त्यसमा सहमति जनाएपछि भुटान र माल्दिभ्सले पनि माने । किनकि सार्कका सवालमा हालसम्म भारतले गरेको निर्णयमा भुटान र माल्दिभ्सले मान्दै आइरहेका छन्,’ कूटनीतिक स्रोतले भन्यो,‘पाकिस्तानले मान्छ कि मान्दैन भन्ने ठूलो प्रश्न थियो । तर पाकिस्तानले सार्क सचिवालय नै नेतृत्वविहीन अवस्थामा लामो समय रहन सक्ने अवस्था देखेपछि अफगानिस्तानलाई छाडेर बंगलादेशमा जाने कुरामा सहमत भएको हो ।’

माघ २१ मा श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा कोलम्बो पुगेर परराष्ट्रमन्त्री विमला राई पौड्यालले सार्कको संकट टार्नका लागि पहल गरेकी थिइन् । उनले सार्कका विदेशमन्त्रीहरूसँग सचिवालय नेतृत्वविहीन भन्ने खतरा रहेकाले त्यसलाई समाधान गर्नुपर्ने विषयमा कुराकानी गरेकी थिइन् । उनले भारतका विदेश राज्यमन्त्री तथा बंगलादेश, माल्दिभ्स र श्रीलंकाका विदेशमन्त्रीसँग साइडलाइन वार्ता गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्