Flash News

एसडी मुनीले दिए राष्ट्रपतिका लागि ४ जनाको नाम

८ फाल्गुन २०७९, सोमबार ०६:५७

काठमाडौँ। भारतीय बुद्धिजीवी तथा नेपाल जानकार एसडी मुनीले नेपालमा राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति खोज्नुपर्ने माग जायज भएको बताएका छन्।

राष्ट्रपति निर्वाचनका लागि नेपालका राजनीतिक दलहरु उम्मेदवार चयनको कसरतमा सक्रिय भइरहेको बेला मुनीले राष्ट्रपतिका लागि योग्य भनेर चार जनाको नामसमेत उल्लेख गरेका छन्।

आज बिहान उनले ट्वीटरमा लेखेका छन्, ‘नेपालमा सर्वसम्मतीबाट नयाँ राष्ट्रपतिको माग जायज छ।’ राष्ट्रपतिका लागि योग्य भनेर मुनीले देवेन्द्रराज पाण्डे, प्राध्यापक बराल (लोकराज), दमननाथ ढुंगाना र अनुराधा कोइरालाको नामसमेत लिएका छन्।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन्।

सत्ता साझेदार दल नेकपा एमालेले भने प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति एमालेलाई दिने सहमति भएको भन्दै आफूले पाउनुपर्ने अडान राख्दै आएको छ। यही असमझदारी बीच सत्ता गठबन्धन संकटमा परेको छ। एमालेसँग असमझदारी बढिरहेको बेला प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँग सम्वाद अघि बढाएका छन्।

हालकी राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिंदै छ। त्यसअघि फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ। त्यसका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्