विज्ञान/प्रविधि

मौसम खबरः उपत्यकामा आज छिटफुट वर्षाको सम्भावना, बीरगञ्जका विद्यालय बन्द

३१ जेष्ठ २०८१, बिहीबार १६:५१

काठमाडौं । मनसुन नेपाल प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाको घोषणा पछि पनि तापक्रम बढेर जनजीवन निकै प्रभावित बनेको छ ।

काठमाडौं उपत्यका र तराईका कतिपय जिल्लामा तामक्रम निकै बढेको छ । यसको सोझो असर विद्यालयहरुको पठनपाठनमा परेको छ । खेतिकिसानी पनि प्रभावित भएको छ ।

तापक्रम बढेर जनजीवन निकै प्रभावित भएपछि छिमेकी भारतका विभिन्न शहरमा विद्यालय र क्याम्पसहरुमा पठनपाठन स्थगित गरिएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । राजधानी नयाँदिल्लीमा यतिबेला तापक्रम बढेर ४५ डिग्री पुगिसकेको प्रेस ट्रस्ट अफ इण्डियाले जनाएको छ ।

हाल देशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

कोशी, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ भने बाँकी भागमा  मौसम  सफा छ । कोशी प्रदेशका  केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

विभागका अनुसार काठमाडौँ उपत्यकामा स्थानीय वायुको प्रभावले आज अपराह्नतिर केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना छ । तैपनि तापक्रम उच्च नै रहने छ ।  मनसुन भित्रन अझै केही दिन लाग्नेछ । शनिबारदेखि यहाँ आंशिक बदली हुनेछ ।

यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।

आज दिउँसो कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसमसफा रहने छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागका अनुसार आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम  सफा रहने छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी र मधेस प्रदेशका तराईका केही स्थानहरुमा हुरी चल्ने सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा कोशी,  वाग्मती र गण्डकी  प्रदेशका पहाडी भागका केही स्थानमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । विभागले कोशी प्रदेश र मधेस प्रदेशका तराईका केही स्थानमा हुरीको सम्भावना रहेकोले सतर्कता अपनाउन सचेत गराएको  छ ।

अत्यधिक गर्मीले वीरगञ्ज महानगरपालिकाले  तीन दिन विद्यालय बन्द   गरेको छ । महानगरले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिएको छ ।

वीरगञ्जको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस मापन गरिएको छ ।

विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्