क्रिकेट

आइसीसी टी–२० विश्वकप : अफ्रिकासँग अमेरिका १८ रनले पराजित

६ असार २०८१, बिहीबार ०७:०७

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको सुपर आठको पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । बुधवार भएको खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । जवाफमा अमेरिकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएपछि खेलको नतिजा १८ रनले दक्षिण अफ्रिकाको पक्षमा गयो ।

समूह चरणमा पाकिस्तानलाई सुपर ओभरमा स्तब्ध र  क्यानडाविरुद्ध  १९५ रनको लक्ष्य पछ्याउँदै सनसनी मच्चाएको अमेरिकाले सुपर आठमा दक्षिण अफ्रिकाविरुद्ध निरास बन्यो ।

टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाको सुरुआत भने राम्रो रहेन । १६ रन हुँदा रिजा हेनरिक आउट भएका थिए । उनले ११ बल खेल्दा ११ रन नै बनाए । उनको ब्याटबाट एक छक्का प्रहार भएको थियो ।

त्यसपछि क्विन्टन डीकक र कप्तान एडेन मार्करम मिलेर दक्षिण अफ्रिकाको रथ अघि बढाएका थिए । यी दुई खेलाडीले ११० रनको साझेदारी गरेपछि दक्षिण अफ्रिका विशाल लक्ष्यतर्फ अघि बढेको थियो । १२.२ ओभरमा १२६ रन हुँदा दक्षिण अफ्रिकाले दोस्रो विकेट गुमायो ।

दक्षिण अफ्रिकाका क्विन्टन डीकक उत्कृष्ट पारि खेलेर विदा भए । ४० बल फेस गरेका डीककले ५ छक्का र ७ चौकाको मद्दतले ७४ रनको पारि खेले । डेभिड मिलर गोल्डेन डकआउट भए । चौथो विकेटको रुपमा एडेन मार्करम ३२ बलमा ४६ रन बनाएर आउट भए । उनले एक छक्का र चार चौका प्रहार गरेका थिए ।

त्यसपछि हेनरिक क्लासने र तृस्टन स्टुबब्सले थप प्रयास गर्दा दक्षिण अफ्रिकाले विशाल योगफल तयार पारेको थियो ।

क्लासनेले २२ बलमा ३६ रन बनाउँदा तीन छक्का प्रहार गरे । यस्तै स्टुबब्सले १६ बलमा २० रन जोड्दा २ चौका हिर्काए ।

 

अमेरिकाका सौरभ नेत्रवाल्कर र हरमित स्रिहले समान दुई दुई विकेट लिए । १९५ रनको लक्ष्यसहित मैदान उत्रिएको अमेरिकाको सुरुआत मध्यम रहेको थियो । ३.३ ओभरमा ३३ रन जोडेका बेला पहिलो विकेट गुमाउन पुग्यो । स्टेभन टेलर १४ बलमा २४ रन बनाएर आउट भए । उनले एक छक्का र चार चौका प्रहार गरेका थिए ।

दोस्रो विकेटको रुपमा नितिश कुमार आउट हुँदा जम्मा ८ रन बनाए । कप्तान आरोन जोन्स खाता नै नखोली पभेलियन फर्किए । एक छेउमा डटेका ओपनर ब्याटर एन्ड्रिस गोसले गतिलो साथ पाएनन् ।  यसैगरी कोरि एन्डरसनले १२ रन बनाए । एन्ड्रिस गोस र हरमित सिंहले जित दिलाउनका लागि सबै प्रयास गरे पनि १८ रन अपुग भएको थियो । गोसले ४७ बलमा ८० रनको नटआउट पारि खेल्दा समान पाँच छक्का र चौका प्रहार गरेका थिए ।

हरमितले भने २२ बलमा ३८ रन बनाएर नटआउट नै रहे । उनले तीन छक्का र दुई चौका प्रहार गरेका थिए ।

दक्षिण अफ्रिकाका कागिसो रबाडाले सर्वाधिक ३ विकेट लिँदा केशव महाराज, एनरिज नोर्टजे र तबरेज सम्सीले समान एक एक विकेट लिए । सुपर एटमा जितका साथ दक्षिण अफ्रिकाले २ अंक पनि बनाएको छ । सपुर एटमा दुई समूह रहेको छ । शीर्ष २ टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्