Flash News

नेपाल सामु स्कटल्याण्डको २१३ रनको लक्ष्य प्रस्तुत

९ फाल्गुन २०७९, मंगलवार ०६:५०

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत घरेलु मैदानमा भइरहेको शृखंलाको अन्तिम खेलमा नेपालले च्याम्पियन बनिसकेको स्कटल्याण्डलाई २१२ रनमा अलआउट गरेको छ।

नेपालका कप्तान रोहित पौडेलले लगातार चौथो खेलमा पनि टस जितेपछि कीर्तिपुरस्थित टीयू मैदानमा पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६.१ ओभरमा सबै दश विकेट गुमाएर २१२ रन बनाएको हो।

स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रन बनाए। म्याथ्यु क्रसले ४२ र ब्रान्डन म्याकुलेनले ३१ रन जोडे। काएल कोएत्जर र क्रिस म्याब्राइजले समान २२ रन बनाए। नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। करण केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले समान १ विकेट लिए।

पहिले ब्याटिङमा आएको स्कटल्याण्डले राम्रो सुरुवात गरेको थियो। काएल कोएत्ज र जर्ज मुन्सीले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरे। पहिलो खेलमा नामिबिया विरुद्ध शतक बनाएपछि दुई खेलमा बेन्चमा बसेका बर्थडे ब्वाए मुन्सीले नेपाल विरुद्ध आक्रमक ब्याटिङ गर्दे ६० रन बनाए। त्यसका लागि उनले ५० बल खेल्दे ९ चौका र २ छक्का प्रहार गरे।

कप्तान रोहितले आठौं ओभरमै स्पीनर सन्दीपलाई बल थमाए। सन्दीपले उक्त ओभरमै कोएत्जर र मुन्सीको साझेदारी ब्रेक गरे। सन्दीपले कोएत्जरलाई एबलीडब्लु शिकार बनाए। पहिलो विकेट गुमाएपनि मुन्सीले आक्रमक ब्याटिङ गरिरहेका थिए। तर, १४औ ओभरमा सन्दीपले लगातार दुई बलमा विकेट लिएपछि नेपालले खेलमा कमब्याक गर्‍यो।

मुन्सेले दवस्रो विकेटका लागि क्रिस म्याब्राइजसँग ४७ रनको साझेदारी गरे। सन्दीपले मुन्सेलाई बोल्ड गर्दै साझेदारी तोडे । लगत्तै कप्तान रिची बेरिङटनलाई एलबीडब्लु धरापमा पारे। कुशल मल्लले २२ रन बनाएका म्याब्राइजलाई २१औं ओभरमा एलबिडब्लु आउट गर्दै नेपाललाई चौथो सफलता दिलाए।

उत्कृष्ट बलिङ गरेका सन्दीपले १ रन बनाएका टोमस म्याकिन्टोसलाई सन्दिप जोराबाट अर्को ओभरमा क्याचआउट गराए। ११८-५ को अवस्थामा रहेको स्कटल्याण्डका लागि विकेटकिपर म्याथ्यु क्रस र ब्रान्डोन म्याकमुलेनले इनिङ्स अघि बढाए। यी दुईले छैटौं विकेटका लागि ५७ रनको साझेदारी गरे।

३५औं ओभरमा नेपालले यो साझेदारी तोड्यो। करण केसीको बलिङमा दीपेन्द्र सिंह ऐरीले क्रसलाई डाइरेक्ट हिटमार्पत रनआउट गरे। लगत्तै करणले नेपालले विरुद्ध अघिल्लो खेलमा शतक बनाएका माइकल लिस्कलाई बोल्ड गरे। ओडिआई क्रिकेटमा मा करणको यो ५०औं विकेट हो।

करणले नै ३९औं ओभरमा म्याकुलेनलाई ललित राजवंशीबाट क्याचआउट गराए। राजवंशीले ४० ओभरमा ७ रन बनाएका क्रिस ग्रिभ्सलाई एलबीडब्लु धरापमा पारे। करणले अन्तिम विकेटको रुपमा मार्क वाटलाई आउट गरे। नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए। सन्दीपले यस शृख्लामा कूल १३ विकेट लिए। उनले यसअघिका तीन खेमा ३-३ विकेट लिएका थिए। लिग टु मा सन्दीपले ५५ विकेट लिएका छन् र सर्वाधिक विकेट लिनेमा तेस्रो स्थानमा छन्।

करण केसीले ८.१ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए। ललित राजवंशी र कुशल मल्लले समान १ विकेट लिए। राजवंशीले १० ओभरमा १ मेडन राख्दै ३३ रन मात्र खर्चिए।

प्रतिक्रिया दिनुहोस्