कला/मनोरञ्जन

१२ औं ‘नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ सुरू

७ असार २०८१, शुक्रबार २०:१४

काठमाडौं । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा शुक्रबारदेखि काठमाडौं सुन्धारास्थित सिने डी सेफमा तीन दिने ‘१२ औं नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ सुरू भएको छ । असार ९ गतेसम्म चल्ने महोत्सवमा १० देशका २८ फिल्म, वृतचित्र र लघु फिल्म प्रदर्शन हुँदैछन् ।

महोत्सव निर्देशक डब्बु क्षेत्रीका अनुसार महोत्सवमा नेपालबाहेक साउथ अफ्रिका, इजिप्ट, तान्जानिया, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमैकालगायत देशका आठ चलचित्र प्रदर्शन हुनेछन् ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि अभिनेता शिव श्रेष्ठ यस्ता गतिविधीमा चलचित्र क्षेत्रसँग जोडिएका सरोकारवाला संस्थाले सहकार्य गर्नुपर्नेमा जोड दिए । यस्ता महोत्सवले हामीलाई विदेशी चलचित्रकर्मीको शैली र समाजसँग साक्षात्कार गराउँछ । त्यसकारण यसमा सहकार्य र सहयोग गर्नु चलचित्रकर्मीको दायित्व हो । मेरो चलचित्र यसमा किन परेन भन्ने महसुश भएको छ,’ उनले भने ।

महोत्सवमा विदेशी फिल्म, लघु फिल्म र वृतचित्तर्फ गणेश पाण्डेको संयोजकत्वमा राहुल वर्मा, एमडी शाहारिअर कमल, राजु केसी र रौनकविक्रम कँडेल सदस्य रहेको निर्णायक समिति रहेको छ । यस्तै, नेपाली फिल्म र वृतचित्रतर्फ नाट्यकर्मी वीरेन्द्र हमालको संयोजकत्वमा भेषराज कार्की, कृष्ण रसाल, ओम सुनार सदस्य रहेको निर्णायक समिति रहेको छ । यस्तै, नेपाली लघुचलचित्र र साङ्गीतिक फिल्मतर्फ हिमाल श्रेष्ठ, प्रतीक्षा काफ्ले र सजिना लामिछाने सदस्य रहेको निर्णायक समिति रहेको छ ।

महोत्सवमा विदेशी फिल्मतर्फ ‘फुल्स’, ‘द चेस्लर’, वृतचित्रतर्फ ‘वि ह्याभ नेभर विन किड्स’, ‘ह्वाईट पोसन’ तथा लघु चलचित्रतर्फ ‘डाइनिज’, ‘अफस्प्रिङ’, ‘सर्भाइभर’ र ‘इग्नोरेन्स इज अ लाईफस्टाईल’ सहभागी छन् । यस्तै, महोत्सवमा नेपालबाट फिल्म र आदिवासी फिल्मतर्फ ‘सरी मम’, ‘काँडेतार’, ‘गोर्खा वारियर’, ‘सनाखत’, ‘आफ्नै कर्म’, ‘लोजिमा’ र ‘रित’, वृतचित्रतर्फ ‘जर्नी टु गोक्यो’, ‘काँचो बायु’ र ‘चेसिङ द ड्रिम’ तथा लघु चलचित्रतर्फ ‘सिगरेट’, ‘आमा’, ‘ऐना’, ‘ढुकढुकी’, ‘घटेरो’, ‘हे दैव’, ‘जुत्ता’, ‘म्यारिज डे’, ‘मातृत्व’ र ‘रोटेन ब्लड’ सहभागी छन् । महोत्सव अवधिभर चलचित्र प्रदर्शनका साथै चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तक्रियालगायतका विभिन्न कार्यक्रम हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्