Flash News

सुरू भयो शहीद स्मारक ए डिभिजन लिग

२० फाल्गुन २०७९, शनिबार ०२:०६

काठमाडौँ। सहिद स्मारक ए डिभिजन लिग शुक्रबारबाट सुरु भएको छ। काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले एक समारोहबीच लिगको उद्घाटन गरेका हुन्

पहिलो खेलमा नवप्रवेशी एफसी खुमलटारले लिगमा विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा फ्रेण्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै खुमलटारले सुखद् सुरुवात गरेको हो। खुमलटारको जितमा मेसुके ओलुमोउले निर्णायक गोल गरेका थिए। उनले ८९ औँ मिनेटमा आएर गोल गरेका थिए। जितसँगै खुमलटारले पहिलो खेलमा ३ अंक जोडेको छ।

तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ। लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ। यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ। यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन्। फेयर प्ले टोलीले ३ लाख पाउनेछन्।

मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउनेछन्। प्रत्येक खेलको विजेता क्लबले म्याच मनीबापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ। हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्