अन्य

आत्महत्या न्यूनीकरणका लागि समझदारीपत्रमा हस्ताक्षर

८ पुष २०८१, सोमबार १५:५२

काठमाडौं । गृहमन्त्रालय र काठमाडौं विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागबिच मानसिक स्वास्थ्य अध्यायन–अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सोमबार विहान गृह मन्त्रालयका विपद् महाशाखा प्रमुख डा. टोकराज पाण्डे र विश्वविद्यालयका मानसिक स्वास्थ्य विभाग प्रमुख डा. दिपक कुँवरले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

गृहमन्त्री रमेश लेखकले अब गृहमन्त्रालय र काठमाडौं विश्वविद्यालयको प्रयासमा आत्महत्याको घटनालाई नियन्त्रण र न्यूनीकरणमा काम हुने बताए । गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको प्रयासमा एक वर्षमा आत्महत्याको घटना ठूलो संख्यामा घट्ने गृहमन्त्री लेखकले विश्वास व्यक्त गरे ।

‘आत्महत्याको विषय गम्भीर भएको छ । प्रत्येक दिनको रेकर्ड हेर्दा म आत्तिन्छु, डराउछु । पछिल्लो २४ घण्टामा मात्र ३७ जनाले आत्महत्या प्रयास गरेका छन् । जसमध्य ११ जनाको मुत्यु भएको छ । बचेका २६ जनाले जुनसुकै बेलापनि आत्महत्या गर्ने खतरा हुन्छ,’ उनले भने ।

आत्महत्याको कारण, कारक र निदानको उपायको खोजीका लागि काठमाडौं विश्वविद्यालयले अध्ययन र अनुसन्धान गर्ने उनको भनाइ छ ।

‘नेपाल प्रहरीले पनि आत्महत्या न्यूनीकरण कार्ययोजना २०८१ जारी गरेको छ । आत्महत्या न्यूनीकरण गर्ने कुरामा हामीले काम राखेकै छौं । तर यतिले पुगेन । थप अगाडि बढ्नुप¥यो । त्यसका लागि काठमाडौं विश्वविद्यालयलेसँग मिलेर काम गर्दा उपलब्धी प्राप्त गर्छौँ,’ मन्त्री लेखकले भने ।

आत्महत्या गर्ने सम्भावना भएका मानिस र आत्महत्या प्रयास गरेका मान्छेको पहिचान गरेर प्रहरीले मानसिक स्वास्थ्य विभागलाई जानकारी गराउने समझदारीपत्रमा उल्लेखक छ ।

गृहमन्त्री लेखकका अनुसार मानसिक स्वास्थ्य विभागले टेलिमेडिसिनमार्फत त्यस्ता मान्छेलाई मनोपरामर्श दिने छ । आत्महत्या नियन्त्रण र न्यनीकरण सम्बन्धी मानसिक स्वास्थ्य विभागले नेपाल प्रहरीलाई पनि आधारभूत तालिम दिने गृहमन्त्री लेखकले बताए ।

केही समयपछि आत्महत्या सम्बन्धी एउटा एप विकास गरेर सबै कुरालाई एपमा जोड्ने योजना रहेको पनि उनको भनाइ छ । आत्महत्या न्यूनीकरणबारे तीन महिनमा आवधिक मल्यांकन गर्न गृहमन्त्री लेखकले निर्देशन दिए ।

‘तीन महिनामा नेपाल प्रहरीले आत्महत्याको प्रयास गरेका कति मान्छेलाई मानसिक स्वास्थ्य विभागलाई जानकारी गरायो ? कति मान्छेलाई मानसिक स्वास्थ्य विभागले मनोपरामर्श ग¥यो ? हामीले कति मान्छेलाई जोगाउन सक्यौं भनेर आवधिक रुपमा मुल्यांकन गर्नुपर्छ,’ उनले भने ।

यस्तै मानसिक स्वास्थ्य विभागका प्रमुख कुँवरले गृहमन्त्रालयसँग भएको सम्झौताले आत्महत्या न्यूनीकरणका लागि काठमाडौं बाहिर पनि काम गर्ने अवस्था बनेको बताए । ‘टेलिमेडिसियनमार्फत दुरदराजसम्म पनि पुग्न सकिन्छ । गृहमन्त्रालयसँग मिलेर काम गर्दा राम्रो परिणाम दिन सकिन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्