अन्तर्वार्ता/विचार

स्वस्थानी पूजा सबैभन्दा सरल र सहज तरिकाले गर्न सकिन्छ : लेखनाथ न्यौपाने

१ माघ २०८१, मंगलवार १०:३६

स्वस्थानी ब्रतमा शाली नदीको कथा आउँछ । नेपाल वरिपरिको कथा आउँछ । कथामा नेपालबाहेक अरु कतैको कथा छैन् । त्यसकारण यसलाई पौराणिक र ऐतिहासिक भन्न कुनै लाज मान्नुपर्ने अवस्था छैन् ।

लेखनाथ न्यौपाने
पण्डित

काठमाडौं । नेपाल ज्योतिष परिषद्का वरिष्ठ उपाध्यक्ष लेखनाथ न्यौपानेले एक महिनासम्म लाग्ने स्वस्थानी व्रतका बारेमा सबै सनातन हिन्दुहरुले अझै राम्रोसँग बुझ्न नसकेको बताएका छन् । नेपाल न्यूज बैंकसँग कुरा गर्दै उपाध्यक्ष न्यौपानेले सबैभन्दा पहिला स्वस्थानी भनेको के हो भनेर बुझ्न जरुरी रहेको बताएका हुन् ।

उनले भने, ‘सबैभन्दा पहिला त स्वस्थानी के हो त्यो बुझ्न एकदमै जरुरी छ । आजको समयमा सबै व्रत लिने सबै नेपालीले स्वस्थानी के हो भनेर बुझेको अवस्था छैन । हामी सबैले बुझाउन आवश्यक छ । स्वस्थानीको ‘स्व’भनेको ‘म, मेरो’ र थानी भने ‘आफ्नो’,‘मेरो’आफ्नै देवता भन्ने बुझिन्छ । नेपालीहरुको इष्टदेवता भनेको स्वस्थानी हो ।’

यसैगरी स्वस्थानी ब्रत नेपालमा मात्रै हुने गरेको उनी बताउँछन् । ‘स्वस्थानी व्रत आफ्नो स्थानीय देवता भएकाले नेपालीको लागि धेरै नै महत्वपूर्ण ब्रत भएको बताए । यो ब्रत पौष शुक्लपक्ष पुर्णिमाको दिनबाट यसको तीथि निर्धारण हुन्छ । पुर्णिमाको दिन शुद्ध बसेर, नङ काटेर, नुवाइधुवाई गरेर माघ कृष्णपक्षको प्रतिपदाबाट व्रत शुभारम्भ गर्ने गरिन्छ । र माघ शुक्ल पक्षको पूर्णिमाको दिन स्वस्थानी व्रत समापन हुन्छ,’ उनले भने ।
यसैगरी उनले स्वस्थानी व्रतमा पूजा गर्ने बिधी सबैभन्दा सहज रहेको बताए । उनले स्वस्थानी व्रत एक जनाले बालुवाको शिव लिङ्ग बनाएर जल चढाएर पूजा गरेको इतिहासमा रहेको बताए ।

उनले भने, ‘हामी पूजा गर्ने भन्छौं तर तडकभडकका साथ गरिरहेको हुन्छौं । सबै देखावटी गर्नु हुँदैन । पूजा भनेको मन र परमआत्माको संयोग गराउने एउटा माध्यम हो । तपस्या गरेर ब्रत गर्यो भने भगवानले दृष्टि राख्नुहुन्छ । पूजा भनेको भगवान र भक्तको सामिप्यता बढाउने, एकआपसमा ध्यान केन्द्रित गराउने माध्यम मात्र पूजा हो । पूजामा धेरै खर्च गरेर खर्चिलो र देखावटी नबनाऔं ।’

साथै उनले स्वस्थानी पूजा सबैभन्दा सरल रहेको स्पष्ट पारे । उनले स्वस्थानी व्रतमा शिव लिङ्गमा जल चढाएर, खेतबारीमा फलेको फलफूल र चन्दन अर्थात जे छ हामीसँग त्यसलाई नै प्रयोग गरेर व्रतमा पूजा गर्न सकिने बताए ।

उनले भने, ‘मन कत्तिको शुद्धता छ भन्ने कुरा सबैभन्दा ठूलो हो । स्नान गरेर आफू चोखो भएँ भन्ने हुँदैन् । तर मन चोखो र शुद्ध आशनमा बसेर ब्रत शुभारम्भ गर्न सकिन्छ ।’

‘ब्रत ३० दिनको हो । कहिलेकाँही घटबढ भयो भने २९ र ३१ दिनसम्म पनि जान सक्छ । यो व्रत महिला–पुरुषले नै बस्न मिल्छ,’ उनले भने ।
‘महिला र पुरुषको व्रतमा पूजा गर्ने विधि पनि एउटै हुन्छ । इतिहासको कालखण्डमा एकजना महिलालाई पात्र बनाएर कथा भनिएको छ । जसमा चन्द्रवतिको नाम कथामा समेटिएको छ । पूजा सबैले गर्दा हुन्छ । इष्ट देवता हामी सबैको हो । यसैगरी स्वस्थानी व्रतको सुरुवात र अन्तिममा पनि चाहिने सामग्री सबै एउटै हुन्छ । पञ्चामृत, अमृत, फलफूल आदि इत्यादि । अन्तिम दिन १०८ सेल, १०८ सुपारी, १०८ पान, १०८ अक्षता फूल स्वस्थानी व्रतको विधिमा चाहिन्छ,’ उनले भने ।

‘सेल पनि साना–साना बनाएर, गरिब दुःखीले धेरै गर्न नसक्ला नि त । ठूलो देखाउने हिसाबमा होइन । सानो सानो भएपनि विधि गरेको राम्रो नै हुन्छ,’ उनले अगाडि भने,‘नुहाएर मात्र शुद्धता हुने होइन, मनको शुद्धता हुनुपर्छ । मनको मैलालाई पखाल्न सक्नुपर्यो । ब्रत बस्ने व्यक्तिले रिस गर्नु हुदैँन्, रिसाउनु हुदैँन् । क्रोध आयो भने त्यो ब्रत नै समापन हुन्छ । सबैसँग सद्भाव राख्नुपर्छ । शत्रुलाई पनि मित्र हो भन्ने भावना राख्नुपर्छ र प्रसन्न आत्मा, प्रसन्न मन लिएर ब्रत बस्नुपर्छ ।’

नेपालमा स्वस्थानी ब्रत महत्व धेरै रहेको उनले बताए । ‘नेपालमा यसको महत्व अझ बढी छ । पहिलो देखिनै स्वस्थानीको भूमि नेपाल भएकाले यहाँ बम्ह, शिव, त्यसपछि चार वेद, १८ पुराणको उत्पत्ति भयो । अनि मावन सभ्यताको उत्पत्ति भयो । ज्ञानको उत्पत्ति यहीबाट भयो । वेद पुराण नै यहीबाट उत्पत्ति भएको हो ।

त्यसकारण हिमालयकी पुत्रि सति र पार्वतीले भगवान शिवलाई पति पाउँ भनेर प्रार्थना गरेको पाइन्छ । कथा एकदमै पुरानो भएकाले त्यसबेलादेखि इष्ट देवता मानेर नेपालीले स्वस्थानी ब्रतको आरम्भ गरेको देखिन्छ । किनभने ब्रत कथामा इतिहास र सृष्टिका कुरा पनि आएका छन् । सृष्टि गर्ने क्रममा हिमालयबाट सुरु भएको र विश्व ब्रम्हण्डमा फैलाएको भनेर जानकारी गराउनका लागि सृष्टिको कालखण्डको पनि कुरा गरिएको उनले जानकारी दिए ।

ब्रतमा शालिनदीको कथा आउँछ । नेपाल वरिपरिको कथा आउँछ । स्वस्थानी ब्रत कथामा नेपालबाहेक अरु कतैको कथा छैन् । त्यसकारण यसलाई पौराणिक र एतिहासिक भन्न कुनै लाज मान्नुपर्ने अवस्था नभएको न्यौपानेको भनाइ छ ।

‘यो ब्रतमा भोको बस्नु पर्दैन् । संसारमा कतै पनि भोकै बस भनेको छैन् । नखाने कुरा कहिले पनि खानु हुँदैन । शरीरलाई असर गर्ने कुरा खानु हुँदैन् । स्वास्थ्यलाई नकारात्मक प्रभाव पार्ने कुरा कहिल्यैपनि खानु हुँदैन । फलफूल, दूधहरु कहिले पनि खान छोड्नु हँुदैन,’ उनको भनाइ छ ।

ब्रत बस्नेले भोजन एकपटक मात्र गरेको राम्रो हुन्छ । किनकी ध्यान नछुटोस् भनेर हो धेरै खाएपछि शौचालय पनि धेरै जानुपर्ने भएकाले ध्यान भंग हुने भएकाले यस्तो भनिएको उनको बुझाइ छ ।

हिन्दु धर्ममा भएका धार्मिक कुराहरुले फाइदा गर्ने गरेको उनको बुझाइ छ । ‘जति पनि हाम्रा धार्मिक कुराहरु छन् । त्यसले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लाभ प्राप्त भएको हुन्छ । त्यो अनुभव गर्ने कुरा हो । एक महिनाभर नराम्रो विचार आएन्, नराम्रो खाएको छैन् भने म आफैं सकरात्मकतातर्फ जान्छ । ब्रत बस्ने व्यक्तिले झुठ बोल्दैँन्, चोरी गर्दैन्, समाजमा गर्न हुने राम्रा कुराहरु मात्र उसले सोच राख्छ भने समाज सुधार हुन्छ । ब्रतले शारीरिक र मानसिक रुपमा स्वस्थ्य राख्न मद्दत गर्छ,’ न्यौपानेले भने ।

‘स्वस्थानी ब्रत बसेका बेला परिवा र समाज विगार्ने सोचियो भने असर गर्छ । बिशेषगरी ब्रह्मचार्यमा रहनुपर्छ । ब्रह्मचार्य भनेको शारीरिक सम्पर्क गर्न हुँदैन् । अरुलाई अर्थात ब्रत नलिने मान्छेलाई स्पर्श पनि गर्न हुँदैन् । भुईँमा सुत्नुपर्छ । खाटमा सुत्न हुँदैन् । आसनीमा सुत्नुपर्छ । पातमा भोजन गर्नुपर्ने हुन्छ । खानेकुरमा एकदमै शुद्धता चाहिन्छ । त्यो भन्दा बढी मनको शुद्धता झनै चाहिन्छ । चारतिर दिमाग लगायो भने ब्रत असफल हुन्छ,’ उनको सुझाव छ ।

स्वस्थानीको पुस्तकको सन्देश आफ्नो स्थानीय देवतालाई खुसी पार्ने नै भएको उनले बताए । अहिलेको पुस्ताहरु कतिपय सनातनी नियममा नबस्ने, आफ्नो धर्म छाडेर आफ्नो आमा बाउलाई ढोग्न छाडेर अन्त्य ढेग्न पुग्नु नराम्रो भएको उनले बताए ।

‘आफ्नो इष्ट देवता भनेकै स्वस्थानी र परमेश्वर हुन् । त्यहाँभन्दा माथि अरु कोही पनि छैन् । त्यो भन्दा माथि संसारमा अरु कुनै ईश्वर छैन् । स्वस्थानी परमेश्वरी ब्रत कथा र आफुले लिन सकिएन भने पनि स्वस्थानी ब्रत लिएको मान्छेको दर्शन गरेपनि पुण्य प्राप्त हुन्छ प्रचलन छ । मेला रमिताको हिसाबले गएर हुने केही होइन् । तर वास्तविक श्रद्धाभावले एक दिनमा ब्रत बसेपनि पुण्य प्राप्त हुन्छ,’ उनले भने । स्वस्थानीको ब्रत बस्न सबैले मिल्ने उनले बताए । भगवान भनेको हिन्दुको मात्र होइन् । हिन्दु शब्द पहिचान मात्र भएको उनको भनाइछ ।

आकांक्षा धामी ÷ नेपाल न्यूज बैंक

प्रतिक्रिया दिनुहोस्