काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले माघ महिनामा बस्ने बैठकको क्यालेण्डर तय गरेको छ । मंगलबार सभामुख देवराज घिमिरेले राखेको बैठकमा सोमबार पेस भएका कार्यसूची केही हेरफेर भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
उनले भने, ‘कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रस्तावित मिति हेरफेर भएका छन् । कार्यसूची त त्यही नै हुन्छन् । १८ गते बैठक प्रारम्भ हुन्छ, अध्यादेश त्यसै दिन प्रस्तुत हुन्छ । हिजो हामीले २२, २३ संसद चलाउने भनेका थियौं तर आज मिति हेरफेर भएर बैठक २४, २५ बस्ने निर्णय गरिएको छ । २४ गते अध्यादेश संसदमा पेश हुनेछ । निर्णयार्थ पनि २४ गते नै ल्याउँछौं । त्यसको केही हप्तामै प्रतिस्थापन विधेयक सरकारको तर्फबाट पेस हुनेछ । यसरी हामीले कार्यसूचि निर्धारण गरेका छौं ।’
साथै उनले संसद र समितिको प्रभावकारिता बढाउनको लागि सत्तापक्ष र प्रतिपक्ष दुवै जिम्मेवार हुने बताए । उनले संसदमा कोरम पुर्याउने कुरामा सत्तापक्ष सचेत रहेको समेत बताए ।