धनगढी । कैलालीको धनगढीमा आजदेखि श्रीमदभागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सुरु भएको छ । सडक आश्रित मानवहरूको संरक्षकको भूमिका खेल्दै आएको मानव सेवा आश्रमले आफ्नै भवन निर्माण सम्पन्न गर्ने उद्देश्यले सप्ताहव्यापी ज्ञान विज्ञान महायज्ञ सुरु गरेको हो ।
मानवसेवाआश्रम सुदूरपश्चिम प्रदेश कैलाली धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले आजदेखि सुरू भएकाे श्रीमद भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञकाे समुद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गर्नुभएको छ ।
त्यसक्रममा उहाँले सत्कर्ममा लागेका व्यक्ति, संस्थालाई प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । वृद्धवृद्धा र सहाराविहीनलाई सहारा दिनका लागि भवन निर्माणार्थ आयोजित महायज्ञको पूर्ण सफलताको कामना गर्दै उहाँले भन्नुभयो, “सबै काम सरकारले नगर्न सक्छ, गर्न नसकिएको काममा सत्कर्ममा लागेका तपाईंहरूजस्ता निःस्वार्थ भावना भएका सङ्घ संस्थाहरू जोडिनु पर्दछ भन्ने प्रदेश सरकारको मान्यता छ ।”
उहाँले मानवसेवा आश्रमले नेपालमा पूर्वदेखि पश्चिमसम्म असहाय र वृद्धवृृद्धालाई गरिरहेको निःस्वार्थ सहयोग सराहनीय रहेको बताउनुभयो । महायज्ञ उदघाटनसत्रमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, प्रदेशसभा सदस्य धर्मराज पाठक, धनगढी उपमहानगरपालिका उपप्रमुख कन्दकला रानाथारू लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
महायज्ञकाे उद्घाटन अघि बिहान १० बजेदेखि बाजागाजा, सांस्कृतिक झाँकीसहित शिवपुरीधामबाट सुरू भएकाे कलशयात्रा धनगढी चाैराह, मेनराेड, अस्पताल लाइन हुँदै पशुपति टाेल महायज्ञ हुने स्थलमा ११ः३० पुगेर समापन भएकाे हाे ।
माानवसेवा आश्रमले आजदेखि सुरू गरेकाे महायज्ञमा निःशुल्क रूपमा योग शिविर सञ्चालन हुने भएकाे छ । योग शिविरमा भाेलिदेखि प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म पतञ्जलि योग पीठका केन्द्रीय प्रभारी लवदेव मिश्रले याेग प्रशिक्षण दिने कार्यक्रम रहेकाे छ ।
साथै महायज्ञमा बिहीबार वरिष्ठ हास्य कलाकार मनोज गजुरेल आउनुहुने भएकाे छ । महायज्ञमा पाल्नुहुने श्रद्धालु भक्तजनहरूलाई थप प्रेरणा र हाैसला प्रदान गर्न कलाकार गजुरेल धनगढी आउनु हुने भएकाे हाे आजदेखि धनगढी-१ पशुपति टाेलमा सुरू भएकाे महायज्ञमा बिहीबार कलाकार गजुरेलले आफ्नाे प्रस्तुति राख्नुहुने कार्यक्रम तय भएकाे आश्रमले जनाएको छ ।
विद्यार्थी माझ सकारात्मक सोच, मानवता प्रवर्द्धन एवं व्यवहारिक शैक्षिक ज्ञान कार्यक्रमहरू २ सेसनमा बिहान साँढे ७ बजे देखि साँढे ९ बजेसम्म र बिहान १० बजे देखि ११ बजे सम्म हुने छन् । महायज्ञमा २४ गतेबाट ३० गते सम्म हरेक दिन भाष्कर कमलनयन गौतमको मुखारविन्दबाट बिहान साँढे ११ बजेदेखि साँढे ४ बजेसम्म संगीतमय श्रीमद भागवत कथा वाचन हुनेछ ।
साथै हरेक दिन साँझ ६ः०० बजेदेखि राष्ट्रिय र स्थानीय कलाकारहरूद्वारा भजन, कीर्तन र नृत्य कार्यक्रम रहनेछ । ख्यातिप्राप्त कलाकारहरूबाट गीत, संगीत, भजन, कीर्तन, झाँकी, देव लीला, नृत्यहरू आयोजना हुनेछ । हरेक दिन महायज्ञमा पाञ्चायन पूजा, लक्ष्य वर्तिका, पितृ उद्धार, धान्याञ्चल, तुला दान, ग्रहशान्ति,८४ पूजा, महामृत्युञ्जय, जप,पाठ परायण लगायतका कार्यक्रम हुने महायज्ञ मूल आयाेजक समितिले जनाएकाे छ ।
मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश स्तरियता मानवीय मन्दिर (भवन) धनगढी उपमहानगर १५ उर्मीमा २ विगाह जग्गामा निर्माण सुरु भइसकेको छ । यसलाई सम्पन्न गर्नका लागि आर्थिक संकलन र सद्भावनाका लागि महायज्ञ आयोजना गरिएको आश्रमका अध्यक्ष अधिकारीको भनाई छ । आश्रमकाे भवन निर्माणका लागि १५ करोड रुपैयाँभन्दा बढी लाग्ने र महायज्ञबाट ५ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएकाे छ ।
मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश, कैलाली, धनगढी शाखाकाे २०७५ साल मंसिर १ गते धनगढी – ५ तारानगरमा घर भाडामा लिई सेवा शुभारम्भ भएको हो । शाखाले हालसम्म ३ सय ८८ जना भन्दा बढी बेसहारा, असहाय, अभिभावकविहीन, जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकमानवहरुको सुदूरपश्चिम प्रदेश भित्रका विभिन्न जिल्लाहरूबाट समेत उद्धार गरी सेवा प्रदान गरिसकेको छ । सेवाको स्थायित्वको लागि मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश धनगढी शाखाको आफनै भवन निर्माण गर्ने लक्ष्य राखी श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१ को आयोजना गर्न लागिएको हो । यस पुण्य कार्यमा सुदूरपश्चिम प्रदेशका सबै मानवता प्रेमी मनहरूलाई महायज्ञमा सरिक हुन मानवसेवा आश्रमले अनुरोध गरेको छ ।
आजदेखि सुरू भएकाे महायज्ञ धनगढी पशुपति टोलमा (सुदूरपश्चिम महोत्सव हुने) ३० माघ गतेसम्म सञ्चालन हुनेछ ।