हिमालय प्रेस २०८१ चैत २७ गते
कोशी प्रदेश सरकारले २०८२ साललाई लक्षित गरेर आजदेखि कोशी पर्यटन वर्ष सुरु गर्दैछ ।
कोशी प्रदेशको विकास समृद्धि र पर्यटन प्रवर्द्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित तेह्रथुमको तीनजुरे मिल्केबाट पर्यटन वर्षको शुभारम्भ गर्न लागिएको हो ।
कार्यक्रमको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिएपनि अन्तिम समयमा प्रधानमन्त्री नआउने भएपछि उपप्रधानमन्त्री प्रकाशमान सिंहले गर्ने तय भएको बताइएको छ ।
मूल आयोजक समितिका अध्यक्ष एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने र पर्यटनबाट नै राष्ट्रिय पुँजी विकास गरेर समृद्धि हासिल गर्न सकिने महत्त्वपूर्ण लक्ष्यसहित पर्यटन वर्ष मनाउन लागिएको बताए । उनले कोशी प्रदेशमा धार्मिक पर्यटनको पनि उत्तिकै सम्भावना भएको र यसका माध्यमबाट प्रदेशलाई समृद्धिमा लैजान सकिने आशा व्यक्त गरे ।
‘प्राकृतिक सुन्दरताले भरिपूर्ण कोशी प्रदेशका मनोरम क्षेत्रहरूमा पूर्वाधार विकास गर्दै अघि बढ्ने र कोशी प्रदेशमा सधैंभरि पर्यटक आइरहने अवस्था सिर्जना गर्नका लागि यो पर्यटन वर्ष आधारशिला हुनेछ,’ मुख्यमन्त्री कार्कीले भने ।
कोशी प्रदेश सरकारले भारतबाट आउने पर्यटकलाई असजिलो हुन नदिनका लागि नाकाहरूमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तयारीमा पर्यटकीय बस तथा सवारी साधनलाई स्टिकर लगाइदिने तयारी पनि गरेको छ । यस्तो स्टिकर लगाएको सवारी साधनमा आउने र जाने मिति तोकेपछि बीच बाटोमा अनावश्यक रूपमा झन्झट नदिने र चेक जाँच नगर्ने प्रदेश सरकारले तयारी गरेको छ ।